काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका अन्तर्गत पर्ने कुलेखानीको हेबी फाखेल सडकखण्डको पुनः मर्मतसम्भार गर्नका लागि १ महिना यातायात सेवा बन्द हुने भएको छ ।
चैत २८ गते शनिवारदेखि आगामी वैशाख २८ गतेसम्मको लागि सबै प्रकारका यातायात सेवा बन्द गर्ने निर्णय गरेको वाग्मती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले शुक्रवार जनाएको छ ।
सडकखण्ड कुलेखानीको हेबीदेखि महालक्ष्मी हुँदै फाखेल र काठमाडौं जिल्लाको सिमानामा पर्ने फर्पिङसम्मको सडकको ढलान, ढल निकास र कालोपत्रे गर्ने कार्यका लागि कुलेखानी हुँदै काठमाडौंतर्फ जाने सबै प्रकारका यातायात सेवालाई बन्द गर्नुपरेको निर्देशनालयका प्रमुख निर्देशक डा. सहदेव भण्डारीले जानकारी दिए ।
दक्षिणकालिका हुँदै सिस्नेरीतर्फ आउने सडकखण्डमा भने यातायात सञ्चालनमा रोक नलगाएको उनले बताए । निर्देशक भण्डारीका अनुसार सम्बन्धित यातायात व्यवसाय, जिल्ला प्रशासन र भौतिक पूर्वाधार मन्त्रालयका पदाधिकारीको आज बसेको संयुक्त बैठकले शनिवार हेबी र फाखेल सडकखण्ड बन्द गर्ने निर्णय गरेको छ ।
दक्षिणकालिकादेखि सिस्नेरी र कुलेखानीको हेबीसम्म सडकमा ढल निकास र कालोपत्र निर्माण गर्ने प्रयोजनका लागि केही हप्तापछि सिस्नेरी सडकखण्ड पनि बन्द गर्ने सहमति भएको निर्देशनालयले जनाएको छ । रासस






