काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारी गरिरहेका बेला भारतीय आयल कर्पोरेसन (आइओसी) ले पुनः मूल्य बढाएर पठाएको छ । भारतले मूल्य बढाएर जुन १ (आज) नयाँ मूल्यसूची पठाएको नेपाल आयल निगमले जानकारी दिएको हो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतका अनुसार पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर हटाएर मूल्य घटाउने तयारी भइरहेका थियो । नेपालमा बिक्री हुने एक लिटर पेट्रोलियम पदार्थमा ५ रुपैयाँ पूर्वाधार कर लाग्दै आएको छ ।
उक्त कर हटाएपछि प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाउने तयारी गरेको थियो । भारतले नयाँ मूल्यसूची पठाएपछि के गर्ने भन्ने विषयमा मन्त्रालयले छलफल गर्न नै नपाएको स्रोतको भनाइ छ ।
पछिल्लो मूल्य सूची अनुसार नेपाल आयल निगमलाई थप भार पर्ने निगमको भनाइ छ । भारतले पठाएको सूची अनुसार अब एक लिटर पेट्रोलमा निगमलाई २२ रुपैयाँ ९३ पैसा घाटा हुनेछ ।
नेपाली बजारमा एक लिटर पेट्रोलको मूल्य १८० रुपैयाँ प्रतिलिटर छ । भारतले पठाएको नयाँ सूची अनुसार एक लिटर पेट्रोलको लागत मूल्य २०२ रुपैयाँ ९३ पैसा हुन आउने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
यस्तै डिजेलमा १९ रुपैयाँ ७३ पैसा घाटा हुने र एक सिलिन्डर ग्यासमा ७५१ रुपैयाँ १४ पैसा घाटा हुने निगमको दाबी छ । हवाइ इन्धर र मट्टितेलमा भने केही नाफा रहेको निगमको भनाइ छ ।
हालको मूल्य अनुसार निगमलाई १५ दिनमा ३ अर्ब ७ करोड ६७ लाख रुपैयाँ घाटा हुने निगमले जनाएको छ । चालु आवको पहिलो १० महिनामा निगमलाई ४७ अर्ब नोक्सानी भएको उल्लेख गरिएको छ ।





