सर्लाही । सर्लाहीका उखु किसानले यो वर्ष उखुको मूल्य प्रति क्विन्टल ७०५ रुपियाँ कायम गर्न माग गरेका छन् । मिलगेट उखु उत्पादक समिति सर्लाहीमा आवद्ध उखु किसानहरुले जिल्लाकै ठूलो उद्योग इन्दु शंकर चिनी उद्योग हरिवनमा आज ज्ञापन पत्र बुझाउँका छन् ।
मिलगेट उखु उत्पादक समिति ज्ञापन पत्र बुझाउँदै क्रसिङ सिजन २०७९/०८० मा उखुको मूल्य प्रति क्विन्टल ७०५ रुपियाँ कायम गर्न माग समेत गरेका हुन् । केही वर्षदेखि चिनीको मूल्य लगातार वृद्धि भइरहेकाले चिनीको मूल्य वृद्धि अनुसार उखुको मूल्य पनि वृद्धि गर्न किसानहरुले माग गरेका छन् ।
कृषि तथा पशुपंछी विकास मन्त्रालय, उद्योग मन्त्रालय र जिल्ला प्रशासन कार्यालय सर्लाहीलाई बोधार्थमा राखेर इन्दु शंकर चिनी उद्योग हरिवनका प्रशासकीय अधिकृत ठाकुर नेपाललाई बुझाइएको ज्ञापन पत्रमा उखु किसानहरु घाटा सहन नसकी उखु खेतीबाटै पलायन हुन थालेकाले यसतर्फ गम्भीर बन्न ध्यानाकर्षण समेत गराइएको छ ।
ज्ञापन पत्र बुझाउन निवर्तमान प्रदेश सभा सदस्य डिल्लीप्रसाद उप्रेती, हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल), मिलगेट उखु उत्पादक समितिका कार्यवाहक अध्यक्ष राज कुमार उप्रेती, कांग्रेस हरिवनका नगर सभापति रामशरण उप्रेती, एमाले हरिवनका अध्यक्ष सीताराम पोखरेल उद्योगमा पुग्नुभएको थियो ।




