दाङ । दाङमा हायस (माइक्रो बस) ले मोटरसाइकललाई ठक्कर दिँदा बुवाआमा घाइते भएका छन् भने छोराको ज्यान गएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुर निवासी ८ वर्षीय बालक स्पर्श आचार्य रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
बालकलाई उपचारका लागि तुलसीपुर ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते दुबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मृतक बालकका बुवा ३९ बर्षीय सुदिप आचार्य र आमा २८ बर्षकी पार्वता आचार्य घाइते भएका छन् । उनीहरुको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ । साथै गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
मंगलबार बेलुका साढे ५ बजेतिर पश्चिम दाङको सीतापुरबाट तुलसीपुर आउँदै गरेको रा ५ प ५६०४ नम्बरको मोटरसाइकललाई तुलसीपुरबाट हापुरे जाँदै गरेको भे १ ज १००२ नम्बरको हायसले बबई गाउँपालिका ६ पञ्चकुलेको ओरालोमा ठक्कर दिएको थियो ।






