रौतहट । लत्ता कपडासहित भारतीय मोटरसाइकल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । रौतहट जिल्लाको राजपुर नगरपालिका १ स्थित पिप्रा भगवानपुरबाट जेठ २ गते सशस्त्र प्रहरीले करिब ३ लाख ३१ हजार रुपैयाँ बराबरको लत्ता कपडासहितको भारतीय मोटरसाइकल नियन्त्रणमा लिएको हो ।
बिआर ०६ सिबि ३८६४ नम्बरको मोटरसाइकलमा भारतबाट अवैध रूपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको लत्ता कपडा र मोटरसाइकल सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटले नियन्त्रणमा लिएको हो । यसैगरी, सोही जिल्लाको गौर नगरपालिका २ स्थित बकैया खोला इलाकाबाट जेठ २ गते सशस्त्र प्रहरीले करिब १ लाख ५२ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अवैध रूपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको विल विजक बिनाको लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटले बरामद गरेको हो । नियन्त्रणमा लिइएको लत्ताकपडा र मोटरसाइकल आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको छ ।




