रौतहट । रौतहटको चन्द्रपुर–४ स्थित माछापुच्छ्रे बैंकका सेवाग्राहीको खाताबाट ९ लाख रुपैयाँ हराएको विषयमा दुवै पक्षबीचको विवाद सहमतिमा पुगेको छ । सहमतिपछि पीडित भनिएका पक्षले विरोध स्थगित गरेको छ भने बैंकले शाखा कार्यालयबाट सेवा सञ्चालन गरेको छ ।
यसअघि आइतबार र सोमबार पीडित भनिएका सेवाग्राहीका आफन्तहरुले बैंक घेराउ गरी सेवा अवरुद्ध पारेका थिए । बैंकले आफ्नै तर्फबाट केही शर्तमा हराएको रकम बराबरको चेक ‘पीडित’ सेवाग्राहीलाई एक महिनापछि साट्ने गरी प्रदान गरेको छ ।
प्रहरी कार्यालयमा दुवै पक्षबीच भएको छलफलमा एक महिनाभित्र रकम हराएको भनिएको विषयमा अनुसन्धान गर्ने निर्णय भएको छ । सो अनुसन्धानपछि बैंकको लापरबाहीका कारण रकम खाताबाट बाहिरिएको खुल्न आएमा सेवाग्राहीले चेक साट्न पाउनेछन् भने सेवाग्रहीकै लापरबाहीका कारण खाताबाट रकम बाहिरिएको पाइएमा चेक सटही हुने छैन ।
यसअघि बृन्दावन नगरपालिका–३ का रामेश्वरराय यादवको खाताबाट ९ लाख रुपैयाँ गायब भएको थियो । यादवको दाबी अनुसार अघिल्लो दिनसम्म उनको खातामा १२ लाख २० हजार रुपैयाँ थियो । तर आइतबार ८ लाखको आफ्नो चेक लिएर साट्न गएका यादवको खातामा रकम नभएको पाइएको थियो ।
खाताबाट ९ लाख रुपैयाँ अन्यन्त्र सारिएको पाइएपछि यादव पक्षधरका स्थानीयले राति १० बजेसम्म बैंक घेराउ गरेका थिए । बैंक घेराउ र कर्मचारीविरुद्ध प्रदर्शन भइरहेपछि बैंकले सोमबार सेवा नै बन्द गर्नुपरेको थियो ।
मंगलबार बैंकका केन्द्रीय प्रतिनिधिहरु सुनिल खतिवडा, रेवतीरमण नेपाल, बिनेश ठाकुर, ईन्दुसेखर देवकोटा, रामजी यादव र पीडित पक्षका तर्फबाट रामकृपाल राय यादव, प्रेमशंकर यादव, रामप्रसाद यादव, बृन्दावन नगरपालिकाका पूर्वनगर प्रमुख रामस्नेही यादव लगायतको टोलीले प्रहरी कार्यालयमा छलफल गरी सहमति भएको हो ।
बैंकका अनुसार यादवको खाताबाट कसैले ओटीपी नम्बर प्रयोग गरी विभिन्न बैंक खाता र खल्ती वालेटमा रकम ट्रान्सफर गरिएको छ । रकम ट्रान्सफर भएपछि नबिल बैंकको गोलबजार शाखाको एटीएमबाट तीन दिनमा ९ लाख रकम झिकिएको छ ।
यादवको ओटीपी नम्बर कसरी बाहिरियो रु कसको खातामा रकम गयो र एटीएमबाट कसले पैसा झिक्यो भन्ने बारे बैंक र प्रहरीले अनुसन्धान थालेका छन् । यादवले ओटीपी नम्बर झुक्किएर दिएका हुन् वा बैंककै कर्मचारीमार्फत भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




