चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को दोश्रो नगरसभा तथा एघारौ अधिवेशनले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि १ अर्ब १९ करोड ८ लाख ८४ हजार ७ सय ५० रुपैयाको अनुमानित बजेट ल्याएको छ ।
आर्थिक वर्ष २०७९/८० को बजेट कार्यान्वयनको अवस्था, आगामी आर्थिक वर्ष २०८०/८१ को निति तथा कार्यक्रम र बजेट वक्तब्य प्रस्तुत गर्दै अधिवेशन सम्पन्न भएको हो ।
नगर प्रमुख सञ्जय काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख जयमाला चौधरीले नगरको आर्थिक, सामाजिक तथा भौतिक विकासको लागि योजना तर्जुमा गरिएको बजेट वक्तब्य प्रस्तुत गरिएको हो ।
आगामी आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब १९ करोड ८ लाख ८४ हजार ७ सय ५० रुपैयाको अनुमानित बजेट रहेकोमा अन्तर आधार सडक तथा पुल निर्माणलाई उच्च प्राथमिकतामा राखी भौतिक विकासमा लगानि गर्ने उपप्रमुख चौधरीले बताइन् ।

विद्युतिय चार्जिङ स्टेशन निर्माणको अन्तिम अवस्थामा रहेकाले उक्त स्टेशन सञ्चालनमा ल्याउने चौधरीले बताइन् । उनले कम्तिमा ५ लाख रुपैया घटिको भौतिक पूर्वाधान योजना वडाले छनौट नगर्ने निति लिईएको र नगर क्षेत्रमा नगरपालिकाको पूर्व स्विकृती विना बनाईएका घर टहरा लगायतका भौतिक पूर्वाधार निर्माण रोक्ने निति अवलम्बन गरिएको जानकारी दिइन् ।
आगामी आर्थीक वर्षको योजनामा शिक्षा र स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राखी जारी योजना बाहेक नगरभित्र ट्रमा सेन्टर निर्माण तथा ब्यवस्थापनका लागि डिपिआर तयार पारी प्रदेश तथा केन्द्र सरकारसँग सहयोगको लागि पहल गर्ने विषय समेटिएको छ ।
“सक्षम र सिपमुलक जनशक्ति चन्द्रपुर नगरपालिकाको सम्पत्ती” भन्ने नाराका साथ पूर्ण साक्षर वडा र नगरपालिका अभियान सञ्चालन गर्ने, सामुदायिक विद्यालयहरुलाई प्रविधिमैत्री बनाउने, शिक्षकको क्षमता विकास गर्ने, उच्च शिक्षा अध्यन गर्ने गरिब, जेहेन्दार, दलित, जनजाती, अल्पसंख्यक तथा सिमान्तकृत समुहका बालबालिकाहरुलाई निश्चित मापदण्डका आधारमा छात्रावृत्ति उपलब्ध गराउने, अनुगमन टोलीमार्फत प्रभावकारी अनुगमन गर्ने लगायतका शिक्षा सम्बन्धि निति समेत समावेश गरिएको छ ।
महिला तथा बालबालिकाको हकमा सचेतना मुलक कार्यक्रमका साथै महिलाहरुलाई सिप तालिम दिई ब्यवसायीक बन्न उत्तप्रेरित गर्ने साथै नगरलाई बालश्रम मुक्त बनाउने अभियानलाई तिब्रता दिइनेछ ।
७० देखी ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई देवस्थल भ्रमण, घर परिवारमा नै गएर सम्मान कार्यक्रम, ज्येष्ठ नागरिक परिचयपत्र वितरण, साथै पारिवारिक, आर्थिक, कानुनी संरक्षणको माध्यमबाट जेष्ठ नागरिकको संरक्षण र प्रवद्र्धन गर्ने योजना समेत नगरले बनाएको छ ।
नगरपालिकाको कुल अनुमानित बजेट झण्डै १ अर्ब १९ करोडमा ६ करोड ३ लाख ४० हजार आन्तरिक आय, ५ करोड ४३ हजार संघिय अनुदान, २ करोड प्रादेशिक अनुदान तथा २३ करोड १० लाख रुपैया राजश्व वाडफाँडबाट रकम प्राप्त हुने अनुमान गरिएको छ ।




