काठमाडौं । सरकारले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
योसँगै नयाँ कम्पनी दर्ता, पुँजी वृद्धि र कम्पनी खारेजीको काम अनलाइनबाट निःशुल्क गर्न सकिने छ । आर्थिक वर्ष २०८०/८१ को बजेटमा अनलाइनबाट कम्पनी दर्ता तथा पुँजी वृद्धि कार्यान्वयन गर्ने कार्यक्रम ल्याउने घोषणा गरिएको थियो ।
त्यसपछि कम्पनी रजिस्ट्रारको कार्यालयले कम्पनी दर्ता र पुँजी वृद्धि गर्न नयाँ सफ्टवेयरमार्फत फिचर थप गरेको छ । नयाँ दर्ता, पुँजी वृद्धि र खारेजीबाहेक अन्य कामका लागि भने शुल्क लाग्ने छ ।




