काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीति मार्फत राष्ट्र बैंकले नीतिगत ब्याजदर घटाएको छ । त्यस्तै शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने घोषणा गरेको छ ।
मौद्रिक नीतिमा आवसीय कर्जाको सीमा ५० लाख रुपैयाँले वृद्धि गरेको हो । कर्जा सीमा बढेसँगै अब घर बनाउन बैंकबाट २ करोड रुपैयाँसम्म ऋण पाइनेछ । यस अघि यस्तो सीमा १ करोड ५० लाख थियो । यस्तै यस अघि विदेश जाँदा १ हजार ५ सय डलर साट्न पाउने व्यवस्था रहेकोमा अब थप १ हजार डलर सटही सुविधा पाउने भएका छन् । अब २ हजार ५ सय सटही सुविधाको व्यवस्था गरिएको हो ।
आन्तरिक तथा बाह्य आर्थिक परिदृश्यलाई दृष्टिगत गरी नीतिगत दरलाई ५० आधार बिन्दुले घटाई ६ दशमलव ५ प्रतिशत कायम गरिएको छ । बैंक दरलाई ७ दशमलव ५ प्रतिशतमा यथावत् राखी निक्षेप सङ्कलन बोलकबोल दरलाई ५ दशमलव ५ प्रतिशतबाट घटाएर ४ दशमलव ५ प्रतिशत कायम गरिएको छ ।
त्यस्तै, बैंकदर यथावत राखिएको छ भने निक्षेप सङ्कलनको बोलकबोल दरलाई पाँच दशमलव पाँच प्रतिशतबाट एक प्रतिशत बिन्दुले घटाएर चार दशमलव पाँच प्रतिशत कायम गरिएको छ । बैंक दरमा स्थायी तरलता सुविधा र नीतिगत दरमा ओभरनाइट तरलता सुविधा उपलब्ध हुने व्यवस्थालाई यथावत राखिएको छ ।




