धादिङ । मजदुरीको सिलसिलामा धादिङ आएका बेला आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको कसूरमा दाङका एक पुरुष पक्राउ परेका छन् । धादिङको धुनिवेशी नगरपालिका-१ जीवनपुरस्थित इँट्टा उद्योगमा २०७९ पुसदेखि २०८० वैशाख ११ गतेसम्म सँगै काम गर्दै छोरीसँग एउटै कोठामा बस्दै आएका थिए ।
त्यसैक्रममा १७ वर्षीया छोरीमाथि पटक-पटक जबरजस्ती करणी गरी भएको पीडित नाबालिकाको जाहेरी उल्लेख भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताए । पटक-पटक जबरजस्ती करणीबाट अहिले नाबालिकाको गर्भमा पाँच महिनाको गर्भ रहेको खुल्न आएको छ । धादिङको इँटा उद्योगमा काम गर्दै आए पनि उनीहरू दाङमा पुगेर मात्रै घटना बाहिरिएको हो ।
पीडक बाबुलाई दाङको घोराहीमा आफन्तकोमा लुकीछिपी बसिरहेको फेला पारी प्रहरीले गत बुधबार पक्राउ गरेको थियो । घटना धादिङ जिल्लामा भएकाले पक्राउ परेका पुरुषलाई हाडनाता जबरजस्ती कसूरमा धादिङ अदालतले आज तीन दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक जैसवारले जानकारी दिए । रासस




