रौतहट । रौतहटमा प्रहरीले १२ लाख मूल्य बराबरको अवैध भारतीय सामान बरामद गरेको छ । जिल्लाको विभिन्न नाकाबाट भन्सार छलेर भित्र्याइएको १२ लाख मूल्य बराबरको सामान प्रहरीले बरामद गरेको हो ।
भन्सार छली गरेर चोर नाका हुँदै भित्रयाइएका भारतीय लत्ता कपडा, खाद्यान्न, कष्मेटिक, इलेक्ट्रोनिक, मदिरा सौफी सलायतका सामान सहित ल्याउन प्रयोग गरिएको १ टेम्पो, ३ मोटरसाइकल बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी दामोदर केसीले बताए ।
विभिन्न नाकाहरुबाट बरामद उक्त सामानको १२ लाख रुपैयाँ मूल्यांकनसहित आवश्यक कारवाहीका लागि मंगलबार जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको प्रहरी प्रवक्ता केसीले जानकारी दिए ।
दशैं, तिहार र छठपर्व आउनै लागेको मौका छोपी तस्करीहरुको छुट्टाछुट्टै समूहले भन्सार छली गरेर जिल्लाको विभिन्न नाका हुँदै सामान भित्र्याइरहेका छन् ।
सीमा क्षेत्रमा खटिएका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीसँग तस्कर समूहले तालमेल मिलाई आर्थिक प्रलोभनमा पारेर अवैध रुपमा भारतीय कपडा लगायतका सामान भित्र्याइरहेको प्रत्यक्षदर्शीहरु बताउँछन् ।




