काठमाडौं । बुधबार अपराह्नसम्म देशका विभिन्न भू-भागमा बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । हाल देशको बागमती, मधेसका पूर्वी भूभाग र कोशी प्रदेशमा मनसुनी वायुको प्रभाव छ ।
आइतबार अपराह्नपछि मौसममा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देखिने हुँदा बुधबारसम्म बदली, छिटपुटदेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बुधबार अपराह्नपछि मनसुनमा सुधार देखिने र त्यसपछि विभागले बुलेटिनमार्फत् मनसुन बाहिरिएको जानकारी दिने छ ।
बुधबारसम्म बाली नकाट्न आग्रह
मनसुन बाहिरिँदै जाँदा देशका केही भू-भागमा घाम लागेको छ । धान लगायत बाली भित्र्याउने चटारो पनि कृषकहरूमा देखिन्छ । मौसमविद्ले बुधबारसम्म बाली काट्न नहतारिन आग्रह गरेका छन् ।




