काठमाडौं । राजश्व हिनामिना र कीर्ते काण्डमा जोडिएका वडा सचिवको फाइल थप अध्ययन र छानबिनका लागि भन्दै अख्तियारमा पठाइएको छ । सरकारी राजश्व आफ्नै व्यक्तिगत खातामा दाखिला गर्नेदेखि जनप्रतिनिधिको सिग्नेचर कीर्ते गरेर बदमासी गर्दै आएका वडा सचिव वाङदी तमाङको गतिविधि उपर छानबिन गर्नका लागि रसुवा जिल्लाका साहयक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र ज्ञवाली र कोष तथा लेखा नियन्त्रक कार्यालयका अधिकृत रहेको छानबिन समिति बनेको थियो ।
उक्त समितिले एक चरणको अनुसन्धान गर्दा कैफियत देखिएसँगै थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । फाइल अघिल्लो सातै अख्तियारमा पठाइएको हो ।
दुई दशकभन्दा लामो समयदेखि एउटै वडामा सचिवका रुपमा कार्यरत बाङ्दी गोसाइकुण्ड गाउँपालिका टिमुरेका स्थानीय बासी समेत हुन् । उनी सदरमुकाम धुञ्चेसँगै रहेको गोसाइकुण्ड गाउँपालिका वडा नम्बर २ का वडा सचिव हुन् ।
उनले पछिल्लो महिनामै मात्र नक्कली रसिद काटेर २ लाख ६४ हजार रकम आफ्नो व्यक्तिगत खातामा दाखिला गराएसँगै वडा अध्यक्षले प्रहरी प्रशासन र जिल्ला प्रशासनमा प्रमाणसहित उजुरी दिएका थिए ।
सोही प्रकरणमा जिल्ला प्रशासन कार्यालयका साहायक प्रमुख जिल्ला अधिकारी संयोजकत्वको टोलीले वडा सचिवको कैफियत देखिएकाले थप छानबिन र कारवाही प्रक्रिया अगाडि बढाउनका लागि फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको जिल्ला प्रशासन कार्यालय, रसुवाका सहायक प्रजिअ लोकेन्द्र ज्ञवालीले जानकारी दिए ।
उता, नक्कली भौचर बनाएर सरकारी राजश्व अपचलन गरी व्यक्तिगत खातामा दाखिला गराउँदै आएका वडा सचिव तामाङविरुद्ध कीर्ते प्रकरणको मुद्धा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
गत साउन २४ गते ९चलानी नम्बर ३९१० आफ्नो नाममा दर्ता श्रेष्ता भएको रसुवा जिल्ला टिमुरे वडा नम्बर ८ र किता नम्बर १२९ को क्षेत्रफल १–१२–२–० को जग्गा राजीनामा पास गराउँदा अध्यक्षको कीर्ते हस्ताक्षर गरी मालपोतमा सिफारिस गरेको भेटिएसँगै उनीविरुद्ध कीर्तेको उजुरी समेत जिल्ला प्रहरी कार्यालय, रसुवामा वडा अध्यक्षले उजुरी दिएका थिए ।
सो प्रकरणमा थप अनुसन्धानका लागि ल्याबमा पठाइएको रसुवा प्रहरीले जनाएको छ । राजश्व हिनामिना र कीर्ते मुद्धामा डामिएसँगै वडा सचिव दुई साता अघि नै वडाबाट पालिकामा तानिएका थिए । लामो समयसम्म सम्पर्क विहिन रहेका उनी प्रकरण फितलो बनाएर जोगाउने तयारी भएसँगै कार्यालयमा हाजिर गराइसकिएको छ ।
वडा सचिव वाङदीले कीर्ते र राजश्व हिनामिना लगायतका अपराध गरी आर्जित रकम माथिल्ला तहसम्मका जिल्ला नेताहरुलाई पुर्याउने कर्म समेत गर्दै आएका कारण उनलाई जोगाउन रसुवाकै केही नेताहरु हात धोएर लागिपरेको आरोप छ ।




