पश्चिम नवलपरासी । भारतीय बजारबाट तस्करी गरेर ल्याइएको लेडिज कपडा सशस्त्र प्रहरीले पंचपेडाबाट बरामद गरेको छ । सशस्त्र प्रहरी बल बिओपी भुजहवाले कपडा बरामद गरेको हो ।
भारतदेखि भन्सार छली गरेर ल्याइएको करिब ८ लाख ६० हजार मूल्य बराबरको कपडा प्रतापपुर गाउँपालिका ४ पंचपेडाबाट बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल बिओपी सरावल गाउँपालिका वडा नं ७ स्थित भुजहवाका सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी निरीक्षक प्रेम कार्कीको नेतृत्वमा खटिएको गस्ती टोलीले ३ सय ४४ पिस रहेको लेडिज मखमलको सुट बरामद गरेको हो ।
बरामद गरिएको कपडा सशस्त्र प्रहरी बल बि ओ पी भुजहवाले आवश्यक कार्यवाहीका लागि महेशपुर भन्सार कार्यालय पठाएको सशस्त्र प्रहरी गण नं २६ का गणपति धिरेन्द्रराज न्यौपानेले जानकारी दिए ।
बरामद गरिएको कपडा क्यारिङ गरि ल्याइएको हुन सक्ने बुझिएको छ । व्यापारीले भारतीय नागरिकलाई क्यारिङको जिम्मा दिएर पंचपेडा प्रहरी चौकीका असइ अमर बहादुर नेपालीको मिलेमतोमा अबैध कपडाहरु तस्करी गर्दै आएको स्थानीय बताउँछन् ।
प्रहरी चौकी पंचपेडाका प्रहरी प्रमुख अमर बहादुर नेपालीको मिलोमतोमा दिनहुँ जसो खुलेयाम तस्करी हुने गरेको स्थानीयहरुको भनाइ छ । उनको मिलोमतोमा दिनहुँ किरानाका विभिन्न समान, चिनी, हाडवेयरका समान, कपडा, खसी, भैसी, पाडा, मल, गेहु, पेट्रोल, डिजल, सिमेन्ट, बालुवा लगायतका सर समानहरु ठूलो रुपमा तस्करी हुने गरेको छ ।
भुजहवा नाकाबाट तस्करी रोकिएपछि तस्करहरुले पंचपेडा प्रहरी चौकी स्थित हरखपुर नाकाबाट प्रहरी प्रमुख नेपालीको मिलोमतोमा तस्करी गरिरहेका छन् । उनले तस्करसँग महिनवारी मोटो रकम उठाएर तस्करी गरेको आरोप छ ।




