काठमाडौं । दशैं–तिहारमा समेत व्यापार नभएपछि व्यापारीहरू निराश बनेका छन् । उनीहरू पसल छोड्ने अवस्थामा पुगेका छन् । एउटा सटरको मासिक भाडा १० हजारभन्दा माथि तिर्ने गरेका व्यवसायीहरू व्यापार नभएपछि तनावमा पर्दै पलायनको अवस्थामा पुगेका हुन् ।
उनीहरु माथि एकातिर सटर भाडाको टेन्सन छ भने अर्कोतिर कोठा भाडा कसरी तिर्ने भन्ने चिन्ताले सताइरहेको छ । बालबालिकाको पढाई, खाद्यान्न लगायत दैनिक खर्चको कुरा छाडौं अबका दिनमा कसरी गुजारा टार्ने भन्ने तनावले सताइरहेको छ ।
जसोतसो पसल सञ्चालन गरिरहेका व्यवसायीहरू पनि टिक्नै नसक्ने अवस्थामा पुगेको बताउँछन् । बजारमा यस्तो आर्थिक मन्दी आएको र मुलुकको अर्थतन्त्र नाजुक भएको भनेर कहिले सुन्न नआएको व्यवासायीहरुले बताउने गरेका छन् ।
बजारमा कोठा र फ्ल्याटहरु पनि त्यत्तिकै खाली हुँदै गएका छन् । अचेल बाटोमा हिँड्दा घरधनीहरू महिनौँदेखि भाडा नदिएको भन्दै डेरावालासँग झगडा गरिरहेको पनि प्रशस्तै देख्न सकिन्छ । हामीले एक व्यापारीसँग सोध्यौं- ‘व्यापार कस्तो छ त ?’
उनले भने, ‘पसल खोल्यौं, तर ग्राहक आउँदैनन् । के व्यापार हुनु ?’ ‘बिहान आयो पसल खोल्यो, दिनभर बस्यो व्यापार छैन । एक जना आएर बोहनी गरिदिएपनि खुसी हुनुपर्ने अवस्था छ ।’
त्यस्तै व्यथा छ भक्तपुरमा भेटिएका एक युवाको । १० वर्ष बेलायत बसेर अब विदेश नजाने सोच बनाइ स्वदेश फर्किएका उनी रोजगारीका लागि फेरि विदेश जाने तयारीमा जुटेका छन् । नेपालमै बसेर केही गरौँ न भनेर सुरु गरेको व्यवसाय चल्न नसकेपछि रोजगारीका लागि बाहिरिनुको विकल्प नरहेको उनी बताउँछन् । उनी भन्छन्, ‘झन् ऋण बढ्दै गयो, व्यवहार बिग्रियो । अन्त्यमा परदेश नगइ सुखै नहुने अवस्था छ ।’
वैदेशिक रोजगारबाट गरिबी न्यूनीकरण, नेपालीको क्रयशक्ति वृद्धि गरेपनि दीर्घकालीन फाइदा पुर्याउने विकासका क्रियाकलाप सञ्चालन गर्न र ठूला परियोजना निर्माण गरी थप रोजगारी सिर्जना गर्न सकेको अवस्था छैन ।
विप्रेषण आप्रवाह सँगसँगै पारिवारिक विखण्डन, सामाजिक एक्लोपन, विप्रेषणको अनुत्पादक क्षेत्रमा प्रयोग, गलत र विदेशी संस्कृतिको प्रयोग, मुलुकमा युवा शक्तिको अभाव, विप्रेषण आयका कारण आयात वृद्धि भई व्यापार घाटा बढ्दै जाने लगायतका समस्या देखिएका छन् ।
जे भएपनि नेपालले वर्षेनि श्रम बजारमा उत्पादन भएका पाँच लाख जनशक्ति खपत गर्ने रोजगारीका क्षेत्र सिर्जना गर्न तत्काल सम्भव देखिदैन । ती जनशक्ति खपत गर्न पुग्ने रोजगारीका आन्तरिक अवसर स्वदेशमा नै व्यवस्थापन गर्न नसक्दा नेपाली युवाको बाध्यता बनेको छ, वैदेशिक रोजगार ।
केहि समय अघि नयाँ बानेश्वर, चाबहिल, गौशाला, जोरपाटी, चक्रपथ, नयाँ बसपार्क, बल्खु, कंलकी, ललितपुर, भक्तपुर, लगानखेल लगायत ठाउँमा खाली सटर पाउनै मुस्किल हुन्थ्यो । एउटा खाली सटर लाखौंमा बिक्री हुन्थ्यो । तर, अहिले यी ठाउँमा यत्तिकै सटर खाली छन् ।
जताततै टुलेट लेखिएको पोस्टर देखिन्छ । बजारमा पूरै मन्दी छाएको छ । व्यापारीहरूको भोक र निन्द्रा हराइसकेको छ । घर धनीहरू पनि घर खाली हुन थालेपछि चिन्तित बनेका छन् । अर्कोतिर बैंकको ऋण तिर्न नसकेपछि बैंकले दिने दबावले झन् तनाव बढाएको छ ।
अहिले बजारमा सटर लिएर व्यापार गर्ने कोही छैन । उल्टो सटर छाड्नेको संख्या बढ्दो छ । व्यवसायी गरिरहेका व्यापारी अब व्यवसाय छाड्छु भनेर बेच्छु भन्दा पनि कसैले नकिन्दा तनावमा परेका छन् । अहिले सटर लिएर पसल गरिरहेका तथा कोठामा बसिरहेकाहरू भाडा तिर्न नसकेकाले घर धनीलाई नै सामान छोडेर गाउँघर फर्किने गरेको पनि देखिएको छ ।
आम जनतासँग पैसा छैन । बेरोजगारी, महँगी र गरिबी दिन प्रति दिन बढ्दो छ । उपत्यकामा विभिन्न कारण बस्दै आएका समेत भाडा तिर्न नसकेपछि दशैं तिहार मान्न गाउँघर गएका कतिपयहरु नफर्किने सोच बनाएर बसेका छन् ।
राजधानीको इन्द्रचोक, असन, भोटाहिटी, क्षेत्रपाटी, वसन्तपुर, न्यूरोड लगायत स्थल सबैभन्दा बढी भिडभाड हुने ठाउँमा पर्छ । तर, त्यहाँकै व्यापारीमा उदासीनता देखिन्छ । मानिसको चहलपहल बढेपनि व्यापार भने नभएको व्यवसायीहरूको गुनासो छ । अहिले यी क्षेत्रमा पनि सटरहरू खाली देखिन्छन् ।
काठमाडौं–ललितपुर र भक्तपुरका बजार क्षेत्र तथा गल्ली गल्लीमा कोठा, फ्ल्याट र सटर खाली रहेको देखिन्छ । उपत्यका बाहिरका व्यापारिक क्षेत्रमा पनि व्यापार हुन छाडेपछि धेरै कोठा र सटर खाली भएका छन् । अधिकांश त भाडा तिर्नै नसकेर पलायनको स्थितीमा रहेका छन् ।
सर्वसाधारण भन्छन्, ‘पैसा नै छैन अनि कसरी किनेर खानु ? व्यापारीले सित्तैमा त सामान दिदैनन् ?’ गाडी र घर जग्गाको अवस्था पनि धेरै फरक छैन । निजामती सेवाबाट अवकाश प्राप्त कर्मचारीहरू पनि सरकार पेन्सन र तलब दिन नसक्ने अवस्थामा पुगेको भन्दै आफूहरूको पनि बिजोग हुन्छ कि भनेर डराउने स्थितीमा पुगेका छन् ।
अहिले मुलुक विदेशी ऋणले च्यापिएको छ । प्रत्येक नेपालीको टाउकोमा लाखौँ विदेशी ऋण छ । बेरोजगारी, गरिबी र महँगी ह्वात्तै बढेको छ । पटक पटक सरकारमा रहेकाहरुबाट पनि आशालाग्दो काम भएको देखिन्न ।
आम जनता कमाउनतिर लिप्त पार्टीको कुरा सुन्न छाडेर सुडकेश बोकेर विदेश पलायन हुने मनोसायका साथ बाहिरिन थालेका छन् । कतिपय विदेश हिडेकाहरु यो देश कहिले फर्केर आउदिन भन्दै कुदिरहेको पनि देख्न सकिन्छ । आशा गरौं सबै कुरा समाधान हुँदै जानेछ र देश विकासको गतिमा अगाडी बढ्ने नै छ ।




