बाँके । बाँकेको नौबस्तामा रहेको जयेन्तु बाल सुधार गृहमा झडप हुँदा ६ जना घाइते भएका छन् । भक्तपुर र वीरगन्जबाट आएको समूह र जयेन्तु बाल सुधार गृहको टोलीबिच झडप हुँदा ६ जना घाइते भएको बाँके प्रहरीले जनाएको छ ।
शुक्रबार साँझ झडप भएपनि शनिबार र आइतबार झडप भएको छैन । तर अहिले पनि अवस्था भने तनावग्रस्त नै छ । यहाँ सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन खोजिरहेका छन् । बाल सुधार गृहमा रहेका दुई समूह भने तोडफोडमा उत्रिएका छन् ।
आइतबार दिउँसो एक समूहसँग झडप नगर्ने सहमति भएपनि अर्को समूहले उक्त सहमति कार्यान्वयन नगरी तनावको स्थिति सिर्जना भएको बताइएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले सोमबार उक्त बाल सुधार गृहको विधिवतरुपमा उद्घाटन गर्ने कार्यक्रम समेत थियो । अब उक्त कार्यक्रम प्रभावित हुने देखिएको छ ।
दुई समूहले एकले अर्कोलाई कुटपिट गर्न खोजेपछि प्रहरीले रोक्ने प्रयास गरिरहेको बताएको छ । अहिले दुवै समूहलाई भित्रै राखेर प्रहरीले स्थिति सामान्य बनाउन खोजेको छ ।
एउटा ब्लकमा २३ जना र अर्को ब्लकमा ९३ जना राखिएका छन् । उनीहरूबीच ढुङ्गा हानाहान भएको थियो । आइतबार अपरान्ह ४ बजेतिर हानाहान हुँदा एक जना बालबन्दी घाइते भएका छन् ।
घाइतेलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको छ । अहिले स्थिति नियन्त्रण लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप सुरक्षा बल खटिएको छ ।
यस बाल सुधार गृहमा १८ वर्षभन्दा माथिका मात्र बन्दी छन् । केही समय अघि मात्र सञ्चालनमा आएको उक्त बाल सुधार गृहमा एक सय १६ जना बन्दीहरू रहेका छन् ।




