रौतहट । रौतहटमा एक पत्रकारमाथि निर्घाट कुटपिट भएको छ । समाचार लेखेको विषयलाई लिएर पत्रकार अशोक यादव माथि कुटपिट भएको हो । पत्रकार यादवको कुटपिटबाट आँखाको डिलमा गम्भीर चोट लागेको छ ।
कटहरिया नगरपालिका वडा नम्बर ९ मा बनाइएको सार्वजनिक प्रतिक्षालयलाई निजी प्रयोजनको लागि प्रयोग गरिएको विषयमा समाचार लेखेको भन्दै पत्रकार यादवमाथि कुटपिट भएको हो ।
यादवलाई प्रतिक्षालय निजी प्रयोजनका लागि प्रयोग गर्दै आएका पिपरा पोखरियाका जीतेन्द्र यादव, सिकिन्द्र यादव, छोटेलाल राय, प्रिन्स जयसवाल र समुन्द्र बिक्रम शाहले कुटपिट गरेको पत्रकार यादवको आरोप छ ।
प्रेस चौतारी रौतहटले घटनाको निन्दा गरेको छ । प्रेस चौतारी रौतहट शाखाले प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार यादवमाथि कुटपिट गर्नेलाई पक्राउ गरी आवश्यक कारबाहीको माग गरेको छ ।





