बाँके । बाँकेस्थित सव–डिभिजन वन कार्यालय राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्दे ७ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । उनलाई अख्तियारको टोलीले बिहिबार नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ११ बाट नियन्त्रणमा लिएको हो ।
काठ चिरानको लागि सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्ज सम्पर्क कार्यालयबाट खटिएको टोलीले पार्देलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।
यस्तै उनको साथबाट श्रोत नखुलेको ३५ हजार ९ सय ७५ रुपैयाँ समेत फेला पारेर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।




