बाँके । नेपाल सरकारले नरैनापुर गाउँपालिकाका किसानलाई बिक्री गर्न दिएको अनुदानको मल बाटोबाटै गायब भएको छ । नरैनापुर ५ मटैयास्थित राप्ती कृषि सहकारी संस्था लिमिटेडले पाएको १ सय ३० बोरा मल बाटोबाटै गायब भएको हो ।
नरैनापुरका किसानका लागि कृषि सामग्री कम्पनीबाट माघ ९ गते बुझिलिएको दुई सय बोरा (प्रति बोरा ५० केजी) नेपाल सरकारबाट अनुदान प्राप्त भएको थियो । उक्त अनुदानित युरिया मलमध्ये सहकारीको गोदाममा ६४ बोरा मात्रै युरिया मल फेला परेको छ ।
यस्तै ६ बोरा मल स्थानीय किसानलाई बिक्री गरेको भर्पाइ पेश भएको छ भने बाँकी हुनुपर्ने १ सय ३० बोरा युरिया मल बाटोबाटै गायब भएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।
उक्त सहकारीले प्रचलित कानुन विपरीतको कार्य गरेको पाइएकोले उपभोक्ता हित संरक्षण ऐनबमोजिम दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । अहिले गोदाममा भएको ६४ बोरा अनुदानित मल शिल गरिएको छ भने गायब भएको १ सय ३० बोरा मल बरेमा सात दिनभित्र स्पष्टिकरणसहित उपस्थित हुन निर्देशन दिइएको छ ।
नेपाल सरकारद्वारा अनुदानित मल तोकिएको सहकारीमार्फत तोकिएको क्षेत्रका किसानले पाए नपाएको सुनिश्चित गर्न जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादर गुरुङको नेतृत्वको आकस्मिक अनुगमन गरिएको थियो ।




