काठमाडौं । झापाको बालुवाटार काण्ड भनेर चिनिने सरकारी जग्गा हडपेको आरोप लागेका नेकपा माओवादी केन्द्रका नेता गगन पुरी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् । आइतबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले माओवादी केन्द्रका नेता पुरीलाई दोषी ठहर गरेको हो ।
विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार पुरीमाथि दमक नगरपालिका १३ को सरकारी जग्गा हडपेर अकुत सम्पत्ति कायम गरेको आरोप थियो । विशेष अदालतको फैसला अनुसार पुरीको आयभन्दा व्यय ४ करोड रुपैयाँ बढी देखिएको ठहर गरेको छ । मुद्दामा पुरीसहित उनकी श्रीमती केशावती पनि दोषी ठहर भएकी छन् ।
पुरीसहित ६ जनाविरुद्ध २१ माघ २०७७ मा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको थियो । ६ जनाविरुद्ध मुद्दा दायर भएकामा २ जना दोषी ठहर भएका हुन् । उनीहरुविरुद्ध सजाय निर्धारणका लागि ६ फागुनमा पेशी तोकिएको छ ।
‘झापाको बालुवाटार काण्ड’का रूपमा चिनिने उक्त क्षेत्रमा ३० बिगाहा सरकारी जग्गा हडपेको आरोप पुरीलाई लागेको थियो । पुरीलाई गत निर्वाचनमा झापा ५ (ख) बाट नेकपा माओवादी केन्द्रले उम्मेदवार बनाएको थियो ।
स्थानीय कमिटीबाट सिफारिसमा परेका पुरीलाई आधिकारिक रुपमा पार्टीले उम्मेदवार बनाएको थियो । पुरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निकट मानिन्छन् । उनीविरूद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सवा १२ करोड बिगो माग गर्दै विशेष अदालतमा २०७७ साल माघमा मुद्दा दायर गरेको थियो ।
पुरीमाथि विभागले १२ करोड १३ लाख ६२ हजार रुपैयाँ बिगो माग्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दा विचाराधीन भएको अवस्थामै पुरीलाई टिकट दिएर माओवादीले पुरस्कृत गरेको थियो । पुरीसँगै विभागले उनकी श्रीमती केशावती, दिदी मनमाया, नातेदार देवकुमार र संगीता पुरीविरूद्ध पनि मुद्दा दायर गरेको थियो ।
तर गगन र केशावतीबाहेकका अभियुक्तलाई भने विशेषले सफाइ दिएको छ । पुरीले २०६६ सालयता सरकारी जग्गा किर्ते गरी आफ्नो र आफन्तको नाममा ल्याएर बिक्री वितरण गरेको विभागको अनुसन्धानले देखाएको थियो ।
मुद्दामा सरकारी जग्गा बेचेर आर्जित र बढे बढाएको केहि सम्पत्ति जफत गर्न माग गरिएको थियो । पुरीले हडपेको जग्गा पनि सरकारकै नाममा फिर्ता गर्न विभागको माग थियो । पुरी नेकपा एकै ठाउँ हुँदा प्रदेश नम्बर १ कमिटीका कोषाध्यक्ष थिए । सम्पत्ति शुद्धीकरण अनुसन्धान सिलसिलामा विभागको हिरासतमा उनी ३९ दिन बसेका थिए ।




