बारा । बाराको वर्कसपमा ग्यास सिलिन्डर पड्किँदा एक जनाको मृत्यु भएको छ । घटनामा अन्य पाँच जना घाइते भएका छन् । बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार मृत्यु हुनेमा निजगढ नगरपालिका ५ का ४५ वर्षीय रेशम मगर रहेका छन् ।
निजगढ ७ बजारमा रहेको उनको वर्कसप लेथमा ग्यास वेल्डिङ गर्ने क्रममा सिलिन्डर पड्किँदा सोमबार मध्याह्न उनी गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा बयोधा अस्पताल वीरगन्जमा दिउँसो साढे १ बजे मृत्यु भएको हो ।
यस्तै, घाइते हुनेमा निजगढ नगरपालिका ५ का ४५ वर्षीय सूर्यबहादुर थापा रहेका छन् । उनको सामुदायिक प्रसूति गृह बारामा उपचार भइरहेको छ । यस्तै, पर्सा वीरगन्ज महानगरपालिका ९ बस्ने ३४ वर्षीय फिरोद देवान घाइते भएका छन् । उनको बयोधा अस्पताल वीरगंजमा उपचार भइरहेको छ ।
यस्तै, वीरगन्ज ९ कै २० वर्षीय रितु रजक घाइते छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको छ । यसैगरी, भारत गवाई बस्ने ३५ वर्षीय राकेश जयसवाल र भारत रामघडजाका २० वर्षीय अरविन साह घाइते भएका छन् । उनको बयोधा अस्पतालमै उपचार भइरहेको छ ।




