सर्लाही । सर्लाहीको हरिपूर्वा नगरपालिकाका कर्मचारी १७ दिनदेखि धर्नामा बसेका छन् । पटक पटकको प्रयास र तनावका बिच नगर सभा सम्पन्न भएपनि अझै तलब नपाएको भन्दै सर्लाहीको हरिपूर्वा नगरपालिकाका कर्मचारीले १७ दिनदेखि धर्ना जारी राखेका हुन् ।
गएको साउनदेखिको तलब माग गर्दै नगरपालिका, वडा कार्यालय र स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी कार्यालय बन्द गरेर निरन्तर धर्नामा बसिरहेका हुन् ।
आठ महिनासम्म बजेट सञ्चालन नभएर तलब नपाउँदा घर, व्यवहार धान्न मुस्किल परेको र कार्यालयमा मसलन्द लगायतका सर सामग्रीको अभाव भएर कार्यालय सञ्चालन गर्न मुस्किल परेको भन्दै स्वास्थ्यकर्मीसहित अन्य कर्मचारी माघ २८ गतेदेखि नगरपालिका परिसरमा अनिश्चितकालिन धर्नामा बसेका हुन् ।
तलब नपाउँदा बालबच्चाको पढाइ खर्च बुझाउन र घर व्यवहार चलाउन गाह्रो परेको कर्मचारी बताउँछन् । तलब नपाएपछि हरिपूर्वाका शिक्षक समेत फागुन ६ गतेदेखि सम्पूर्ण विद्यालय बन्द गरेर कर्मचारीहरूसँगै धर्नामा बसिरहेका छन् ।
१० दिनदेखि विद्यालय बन्द हुँदा नगरपालिकाभित्रका १६ वटा सामुदायिक विद्यालयका विद्यार्थी पढाइबाट वञ्चित बनेका छन् । १० दिनदेखि विद्यालय बन्द हुँदा विशेष गरी एसइइको तयारीमा रहेका विद्यार्थी मारमा परेका छन् ।




