सुनसरी । आइतबार दिउँसो सुनसरीमा भएको प्रदर्शनमा नेपाल प्रहरीका डीएसपीसहित ९ जना प्रहरी घाइते भएका छन् । तीन दिनदेखि जारी प्रदर्शन हिंसात्मक बनेपछि नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको थियो ।
प्रहरीले १२ राउण्ड हवाइफायर, २९ सेल अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुंगामुडा प्रहार गर्नुका साथै घेराबन्दीमा पारेर निर्घात कुटपिट समेत गरेका छन् । त्यस क्रममा प्रहरी नायब उपरीक्षक नबिनकृष्ण भण्डारीसहित ९ जना घाइते भएका छन् ।
सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले दिएको जानकारी अनुसार प्रदर्शनमा घुसपैठ भएपछि हिंसात्मक भएको हो । हाल सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
शान्ति सुरक्षालाई मध्यनजर गर्दै सुनसरी प्रशासनले हरिनगर गाउँपालिका पूरै क्षेत्र र देवानगन्ज वडा नं १ र ७ मा कर्फ्यु आदेशलाई कायमै राखेको छ । अर्को सूचना नआएसम्म हरिनगर गाउँपालिका पुरै र देवानगन्ज वडा १ र ७ मा कर्फ्यु यथावत छ ।
प्रशासनले अन्य पालिकाहरुमा भने आंशिकरुपमा कर्फ्यु लागू हुने जनाएको छ । इनरुवा नगरपालिका क्षेत्र, देवानगंजको वडा २, ३, ४, ५ र ६ वडा, भोक्राहा नरसिंह गाउँपालिका क्षेत्र र कोशी गाउँपालिका क्षेत्रमा भने कर्फ्युलाई प्रशासनले केहि खुकुलो बनाएको छ ।




