काठमाडौं । नयाँ वर्ष २०८१ सुरु भएसँगै विवाहको माहोल बढेको छ । नेपाली पञ्चाङ्ग अनुसार वैशाख महिनामा ६ र ७ गते २ दिन मात्रै विवाहको लगन छ । जसको कारण पनि अहिले मानिसहरुको भिडभाड समेत बढेको महसुस गर्न सक्छौं । अहिले एक घरमै ५/७ ओटासम्म विवाहको निम्तो आएको छ ।
सनातन हिन्दू धर्म अनुसार वर्षमा ६ महिना वैवाहिक कार्यक्रमको लागि साइत हुन्छ भने ६ महिना हुँदैन । नेपाली पञ्चाङ्ग अनुसार साउनदेखि कात्तिकसम्म र पुस तथा चैत गरि ६ महिना वैवाहिक कार्यक्रम हुँदैन ।
यसैगरी, मङ्सिर, माघ, फागुन, वैशाख, जेठ र असार गरि ६ महिना वैवाहिक कार्यक्रम हुने गरेको छ । अहिले विवाहका कार्यक्रमहरू भइरहेका छन् र परम्परागत विवाहलाई आधुनिकीकरण गरी बढी खर्च, तामझामले वैवाहिक कार्यक्रम भइरहेका छन् ।
हल्दी दल्ने र हातखुट्टामा मेहदी लगाउने विधि विवाह अन्तर्गत परेपनि अहिले यसलाई आधुनिकीकरण गरी छुट्टै कार्यक्रमको साथ खर्चालु बनाइएको छ । अहिले हल्दी दल्न एक दिन, मेहदी लगाउन एक दिन, सङ्गीत कार्यक्रम गर्न एक दिन र वैवाहिक कार्यक्रम छुट्टै दिन सम्पन्न हुने गरेको छ ।
तीन दिनसम्म वैवाहिक कार्यक्रम हुँदा खर्च बढी हुने गरेको छ । नेपाली समाजमा मेहदी र सङ्गीतको परम्परा नरहे पनि अहिले तराई–मधेस र राजधानी लगायत ठूला शहरहरूमा यो परम्पराले जरो गाड्दै गरेको छ ।
पहिले वैवाहिक कार्यक्रम टोल, समाजमा हुने गरेकामा अहिले पार्टी प्यालेस, होटेल र हुने खानेहरूले देशका विभिन्न शहर तथा विदेशमा गएर वैवाहिक कार्यक्रम गरिरहेका छन् । यसले पनि समाजमा अस्वस्थ प्रतिस्पर्धा भित्र्याएको छ ।
परम्परागतरूपमा मधेसी समाजमा तिलकको कार्यक्रम हुन्थ्यो भने पहाडी समाजमा टीका टालोको । दुवै समाजका मानिसहरू वरपक्षबाट वधूपक्षको घरमा गएर तिलक, टीका टालो कार्यक्रम गर्थे । अहिले यो लोपप्रायः भएको छ । वैवाहिक कार्यक्रममैं यसलाई सीमित गरिएको छ ।
वैवाहिक कार्यक्रममा भएको यो परिवर्तनसँगै अहिले बिहे भोजमा पनि केहि परिवर्तन भएको छ । पहिले बेहुली पक्षले टोल, समाज र जन्तीलाई छुट्टाछुट्टै भोज खुवाउँथे । त्यसैगरी, वर पक्षले पनि बेहुली भित्र्याएपछि टोल, समाजको लागि छुट्टै भोजको व्यवस्था गर्थे । तर, अहिले वरपक्षले जन्ती लगेर वधूपक्षकै भोजमा सीमित गरेको पनि पाइएको छ ।
यसले गर्दा वैवाहिक कार्यक्रममा भोजकै विषयलाई लिएर टीकाटिप्पणी हुन थालेको छ । यस्तै, पहिले वधूपक्ष वरपक्षको घरमा गएर पानी पनि नपिउने चलन थियो तर अहिले वैवाहिक कार्यक्रम सम्पन्न भएपछि वरपक्षले दिने विवाह भोजमा वधूपक्षका मानिसहरू सहभागी हुने गरेका छन् । सुरूमा राजधानी केन्द्रित र ठूला शहरबाट अहिले तराईका जिल्लाहरूमा पनि यो परम्परा देखिन थालेको छ ।




