झापा । झापाको बनियानीमा गएराति दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । शुक्रबार राती ९:५० बजेतिर बनियानी केचना सडक अन्तर्गत कचनकवल गाउँपालिका ६ बनियानीको पेट्रोल पम्प नजिक दुर्घटना भएको हो ।
केचनाबाट बनियानीतर्फ आउँदै गरेको मे ८ प ८१७ नम्बरको मोटरसाइकल र बनियानीबाट केचनातर्फ जाँदै गरेको बीआर ३६ एक्स ३९४४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी बीआर ३६ एक्स ३९४४ नम्बरको मोटरसाइकलका चालक कचनकवल ४ निवासी ४१ वर्षीय कृष्णप्रसाद शाहको मृत्यु भएको हो । त्यस्तै, सोही मोटरसाइकलको पछाडि सवार सोही ठाउँका १४ वर्षीय संदिप माझी गम्भीर घाइते भएका छन् ।
उनलाई ओमसाई पाथीभरा हस्पिटल भद्रपुरबाट बीएण्डसी हस्पिटल बिर्तामोड रेर्फर गरिएको छ । त्यस्तै, मे ८ प ८१७ नम्बरको मोटरसाइकलमा सवार कचनकवल ६ निवासी २१ वर्षीय गोपाल राजवंशी र वडा नम्बर ७ निवासी अन्दाजी २५ वर्षीय रामबहादुर राजवंशी घाइते भएका छन् ।
उनीहरूको ओमसाई पाथीभरा हस्पिटलमा उपचार भइरहेको छ । यता इलाका प्रहरी कार्यालय बनियानीले दुवै मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।




