काठमाडौं । ललितपुरको प्रसिद्ध नागदह प्रदुषणको चपेटामा परेको छ । स्थानिय स्तरमा दहको पानीमा खुल्लारुपमा लुगा धुने र नुहाउने क्रम बढ्दै गएका कारण यो दह प्रदुषणको चपेटामा परेको हो भन्दा अतियुक्त नहोला ।
धार्मिक दृष्ट्रिकोणबाट महत्वपुर्ण यस दहमा फोहोरहरु मिसिंदा पनि स्थानीय स्तरबाट सफाईमा कुनै पनि चासो दिइएको देखिदैन । दहको वरिपरि विभिन्न किसिमका झारपातहरु उभ्रिएको भएपनि झारपातहरु हटाउन तिर कसैको ध्यान जान नसक्दा दह अझ बढी फोहोर भएको देखिन्छ ।

नागदह फोहोर हुँदा आफूहरुलाई नै घाटा हुने यहाँका स्थानीयले बुझेका छैनन् । जनप्रतिनिधि र स्थानीय ठूलाबडाहरुले पनि नागदह फोहोर भइरहेको विषयलाई आँखा चिम्लेर बसेको देखिन्छ । स्थानीय उद्योग र बस्तीबाट निस्कने फोहोर पानीले नागदह दुषित बनेको छ । यहाँ जलकुम्भी झार ननिकाल्दा झन् फोहोर देखिएको छ ।
ललितपुर महानगर व्यवस्थित र सुन्दर बनाएको भन्दै मेयर चिरीबाबु महर्जनको प्रशंसा हुन्छ तर ललितपुर महानगरको २४ वडामा रहेको नागदह घुम्दा यस्तो लाग्दैन । महानगरको यो ऐतिहासिक सांस्कृतिक स्थल फोहोरै फोहोरले भरिएको देखिन्छ ।
धार्मिक ऐतिहासिक यो नागदहमा लुगाधुन नुहाउन खुलेआम पाइन्छ । महानगरमा नागदहमा यसो गर्दा कुनै कारवाही हुँदैन । यस सम्बन्धमा सम्बन्धित निकायको ध्यान चाडै जाओस् र सफा सुन्दर नागदह हेर्ने अवसर मिलोस् ।




