मानिसहरु घुमफिर गर्न रुचाउँछन्, त्यसमा म अछुतो रहने कुरै भएन । फुर्सदको समयमा परिवार र साथीहरुसँग नयाँ ठाउँहरु घुम्दा बेग्लै आनन्दको आभास हुन्छ । कहिले हामी साथीसँग त कहिले परिवार नै घुम्न निस्कने गछौं । यसै सन्दर्भमा मातातिर्थ औसीको केहि दिन पश्चात मातातिर्थ मन्दिरमा पुग्ने अवसर मिल्यो । मन्दिरमा दर्शन पश्चात घुमफिर गर्दा रमाइलो भएको महसुस मिल्थ्यो ।

मातातिर्थमा प्राकृतिक सौन्दर्य अपार एवम् मनमोहक छ । काठमाडौंबाट निक्कै नजिकैको सुन्दर गन्तव्य हो मातातिर्थ मन्दिर । काठमाडौंबाट ११ कि.मि. को दुरी चन्द्रागिरी नगरपालिका अन्तर्गत बागमती अञ्चलमा पर्ने मातातिर्थ मन्दिर एक प्रसिद्ध मन्दिर हो । यस मन्दिरमा विशेष गरि मातातिर्थ औंसीका दिनमा घुइंचो लाग्ने गर्छ ।
मन्दिर परिसरमा घुमिरहँदा काठमाडौंको नजिक रहेर पनि भक्तजन न्यून मात्रामा देख्दा विकासको दृष्टीले पछि परेको हो कि भन्ने आभास हुन्थ्यो । मन्दिरको ऐतिहासिकता र धार्मिक महत्वलाई ध्यानमा राख्दा यसको विकास गरी प्रचार प्रसार गर्न सकेको खण्डमा यही मन्दिरमा आउने पर्यटकहरूको संख्या बढाउन सकिन्छ ।

किंबदन्ती
भगवान् विष्णुको सातौँ अवतारका रूपमा मर्यादा पुरुषोत्तम श्रीराम वनवासका क्रममा घुम्दै यो ठाउँमा आइपुग्नुभयो । उहाँलाई अपरिचित र नौलो देखेर स्थानीय बासिन्दाहरूले आक्रमण गरे । फलस्वरूप श्रीराम र उनीहरू बीच घमासान युद्ध भयो । युद्धले गर्दा दुवै पक्ष आकुल व्याकुल थिए । त्यही बेला माता सीतालाई प्यास लाग्यो । पानी खोज्दै जाँदा कतै पानी नभेटिएकाले भगवान् श्रीराम गङ्गामाताको स्तुति गर्न थाल्नुभयो ।

‘माता गङ्गासमो तीर्थ पिता पुस्कर मे वचः’ भन्दै तीन पटक मन्त्रोच्चारण गरी जमीनमा वाण प्रहार गरेपछि वाण लागेको ठाउँमा पानीको कुण्ड बन्यो । त्यहाँ माता सीताले सारा ब्रह्माण्डको साक्षात् दर्शन पाउनुभयो । ब्रह्माण्डको दर्शन पाउँदा उहाँको स्वरूप कुण्डमा रहेको ढुंगाको मूर्ति कोरिन पुग्यो ।

त्यतिबेला त्यहाँ घना जंगल भएकाले गाई चराउन आएका गोठालाहरू कुण्डको नजीकै बसेर खाजा खाइरहेका थिए । एउटा गोठालो मुखमा रोटी नपरी कुण्ड भएतिर मात्र जाँदो रहेछ । उसले त्यहाँ आमाको दर्शन पाएछ, तर घर फर्कने बेलामा गोठालोले एक्लै फर्किन नमानेको र आमासँगै जाने इच्छा राख्दा आमाले छोरालाई हामी मृत आमाहरूको दर्शन गर्न सधैं वैशाख औंसीको दिन यो तीर्थमा आउनू भन्ने बाचाका साथ छोरालाई सम्झाई बुझाई फर्काइन् । आमाको पवित्रस्थल भएकाले यो ठाउँको नाम मातातीर्थ रहेको हो ।

मातातीर्थको पोखरीमा पवित्र मनका साथ हेरेको खण्डमा आमाको स्वरूपको दर्शन पाइन्छ भन्ने विश्वास पनि रहेको छ । कुण्डमा हेर्दा दिवंगत माता प्रसन्न भई दिएको आशीर्वादको प्रभावले छोराछोरीहरू जनधनले सम्पन्न भएर सुख भोग गर्न पाउँछन् भन्ने विश्वास छ । मातातीर्थ कुण्ड पौराणिक एवम् धार्मिक तीर्थस्थल हो ।




