बारा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको पथलैया-निजगढ सडक खण्डको दुधौरा खोला पुल निर्माणको काम अलपत्र परेको छ । निर्माण सम्झौता हुँदाको म्याद सकिएको ४ वर्ष बितिसकेको छ । तर न त सरकारले पुल निर्माणका लागि पर्याप्त बजेट छुट्याएको छ, न त निर्माण कम्पनीले नै सम्झौता अनुसार काम गरेको छ ।
पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बाराको निजगढ-पथलैया सडकखण्डको दुधौरा पुल निर्माणमा यसअघि ठेकेदार कम्पनी महादेव/खिम्ती/हीराचन जेभी काठमाडौंले आवश्यकता अनुुसार निर्माण सामग्री, कामदार र मेशीन जुुटाउन नसक्दा तोकिएको समयसीमाभित्र काम सम्पन्न गर्न सकेन ।
पछिल्लो पटक आव २०८१/८२ को साउन मसान्तभित्र काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई पुल विभाग अन्तर्गतको पुल सेक्टर काठमाडौंले म्याद थप गरेको थियो । तर पनि समयमैं काम सम्पन्न गर्न ठेकेदार कम्पनी अघि सरेको छैन ।
सरकारले तोकिदिएको समय सीमा भित्र ठेकेदार कम्पनीले काम सम्पन्न गर्न नसक्नु र अहिले सरकारसँग रकम अभाव हुनाले निर्माण कार्य अघि बढ्न सक्ने अवस्था छैन ।
तोकिएको समयभित्र काम सम्पन्न नहुने देखेपछि ठेकेदार कम्पनीलाई अन्तिमपटक समय थप भन्दै पुल सेक्टर काठमाडौंले २०८१ साउन मसान्तसम्म म्याद बढायो । तर कामले गति लिन सकेको छैन ।
यसअघि ठेकेदार कम्पनीलाई पर्याप्त समय हुुँदा हुँदै पनि तोकिएको समयमा काम सम्पन्न नगरेको पुल सेक्टर काठमाडौंको भनाइ छ । ठेकेदार कम्पनी र पुल विभाग महाशाखा काठमाडौंको दोहोरीले दुधौरा खोलाको डाइभर्सन भएर आवतजावत गर्ने यात्रुहरूले दैनिक सास्ती भोग्दै आइरहेका छन् ।
डाइभर्सनमा भएका खाडलहरूलाई पुर्ने, सम्याउनेसम्मको काम ठेकेदार कम्पनीले गरेको छैन । जसले गर्दा सवारी साधनहरूलाई हानि पुग्ने लगायत वृद्धवृद्धा, अशक्त, बालबालिका, बिरामीहरूलाई सास्ती हुुने गरेको छ ।
महादेव/खिम्ती/हिराचन्द जेभीले आर्थिक वर्ष २०७४/७५ मा १५ करोड १२ लाख रुपैयाँमा दुधौरा पुलको ठेक्का सहमति गरेको थियो । सडक विभागको पुल युनिट सेक्टर २ ले लगाएको उक्त ठेक्का ३ वर्षभित्र सम्पन्न गर्नुपर्ने सम्झौता भएको थियो ।




