वीरगंज । पर्सा जिल्लाको वीरगंज महानगर र पर्सागढी नगरपालिकामा रहेको तीन वटा खोलामा मापदण्ड विपरीत नदीजन्य पदार्थको उत्खनन् भइरहेको छ । जेठको पहिलो साता बित्न लाग्दा अहिले तीन वटै खोलामा वातावरणीय परीक्षण प्रतिवेदन विपरीत उत्खनन् कार्य भइरहेको छ ।
ठेकेदारले कामदारहरू लगाएर खोलाको किनारसम्म उत्खनन् गराइरहेका छन् भने ट्याक्टरमा नदीजन्य पदार्थ तोकिएको मापदण्डभन्दा बढी सङ्कलन भइरहेको छ ।
वीरगंज महानगरसँग ठेकेदारले गरेको सम्झौतामा विहान घाम उदाएदेखि साँझ घाम अस्ताएसम्म नदीजन्य पदार्थको तोकिएको मापदण्डमा रहेर उत्खनन् गर्ने व्यवस्था भएपनि सो विपरीत घाम नउदाउँदै एकाबिहानैदेखि ठेकेदारले नदीजन्य पदार्थको उत्खनन् गर्दै आएका छन् भने घाम अस्ताइसकेपछि पनि रातिसम्म उत्खनन् जारी राखेका छन् ।




