धनुषा । धनुषामा क्रसर उद्योगमा काम गरिरहेका एक युवकको मृत्यु भएको छ । गणेशमान चारनाथ नगरपालिका ६ मा रहेको कमला स्टोन क्रसरमा बुधबार दिउँसो मेसिन सफा गर्ने क्रममा फित्तामा बेरिएर स्थानीय २० वर्षीय अर्जुन यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार ढुंगा फोड्ने मेसिनको फित्तामा टाउको च्यापिएको अवस्थामा यादव मृत भेटिएका थिए । त्यहीँ काम गरिरहेका बाराको निजगढ घर भएका ४५ वर्षीय खेमकुमार मगर घाइते रहेको उनले बताए ।
मगरको अवस्था सामान्य रहेको र गोदारस्थित निजी अस्पतालमा उपचार भइरहेको डिएसपी अवाको भनाई छ । मृतक यादवको शव पोष्टमर्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




