काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा दोषी ठहर भएका सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेल मृत अवस्थामा भेटिएका छन् । बिहिबार बिहान भक्तपुरस्थित आफ्नै घरमा पोखरेल मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । अदालतले दोषी ठहर गरेको २ दिनपछि उनी मृत फेला परेका हुन् ।
बिहिबार बिहान ८ बजे आफ्नै घरको भर्याङमा उनी झुन्डिएको अवस्थामा मृत भेटिएको भक्तपुर प्रहरीले जनाएको छ । विशेष अदालतले जेठ ८ गते पोखरेललाई दोषी ठहर गर्दै ६ महिना कैद तथा ५ करोड ८४ लाख ५५ हजार १ सय ५९ रूपैयाँ जरिवाना र सो बराबरको बिगो रकम असुलको फैसला सुनाएको थियो ।
५७ वर्षीय पोखरेल वन तथा वातावरण मन्त्रालयमा उपसचिवस्तरमा कार्यरत रहेका बेला गत वर्ष निलम्बनमा परेका थिए । प्रहरीका अनुसार घटनास्थलबाट सुसाइड नोट फेला परेको छ, जसको प्रारम्भिक अनुसन्धानमा प्रहरीले पोखरेलले आत्महत्या गरेको हुन सक्ने अनुमान गरेको छ । सुरक्षण प्रिन्टिङ प्रेस खरिद प्रकरणमा यही जेठ ८ गते विशेष अदालतले उनीसहित ४ जनालाई दोषी ठहर गरेको थियो ।




