रौतहट । रौतहटका स्थानीय तहका प्रमुखको संरक्षणमा मापदण्ड विपरीत नदीरखोलाको दोहन जारी रहेपनि जिल्ला अनुगमन समिति निष्क्रिय रहेको पाइएको छ । नदी उत्खनन गर्न त्रुटिपूर्ण प्रक्रियालाई अगाडि बढाएर मिलेमतोमा ठेक्का लगाएको कारण जिल्लाका नदी/खोलाको जथाभावी दोहन भइरहेको छ ।
रौतहटका बाग्मती, लालबकैया, चाँदी, हर्दिया, धनसर लगायतका नदीरखोलामा नदीजन्य पदार्थ उत्खनन गर्नका लागि स्थानीय तहका प्रमुख तथा पदाधिकारीहरूको मिलेमतोमा प्रक्रिया नै मिचेर ठेक्का लगाइएपछि नदी/खोलामा नदीजन्य पदार्थका माफियाहरूको जगजगी छ ।
केही दिनअगाडि जिल्ला अनुगमन समितिको बैठक बसेर नदीरखोला जथाभावी दोहन गर्ने कार्यलाई निरुत्साहित गर्दै त्यस्ता कार्य गर्नेविरुद्ध कानूनी कारवाही गर्ने प्रतिबद्धता जनाइएपनि अहिलेसम्म कारवाही भएको छैन ।
जिल्ला अनुगमन समिति निष्क्रिय भएपछि सुरक्षा निकाय सक्रिय भएर नदी/खोला मापदण्ड विपरीत दोहन कार्यमा संलग्न दुई वटा एक्साभेटर, चार वटा टिपर र आठ वटा ट्याक्टरलाई समातेर कारवाहीको लागि स्थानीय तहलाई बुझाएको जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रमुख एवम् प्रहरी उपरीक्षक प्रदीप घिमिरेले बताए ।
यस्तै, जेठ ३ गते सशस्त्र प्रहरीले गढीमाई नगरपालिकाको समनपुरस्थित बाग्मती नदीको पुलछेउमैं जथाभावी उत्खनन गरिरहेको अवस्थामा पाँच वटा एक्साभेटरलाई नियन्त्रणमा लिई कारवाहीको लागि गढीमाई नगरपालिकालाई बुझाएको सशस्त्र प्रहरी बल नेपाल ११ नं. गण, रौतहटले जनाएको छ । तर, सशस्त्रले बुझाएको पाँच वटा एक्साभेटर कारवाही नगरी पालिकाले छाडेको थियो ।




