काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले परीक्षा लिएको एक वर्षभन्दा बढी समय हुँदा पनि नतिजा प्रकाशन नगर्दा विद्यार्थी मर्कामा परेका छन् । सामान्यतया परीक्षा सकिएको तीन महिनाभित्र नतिजा सार्वजनिक गर्नुपर्ने त्रिविको नियम छ । तर, नियम एकातिर नियती अर्कैतिर भनेझै भएको छ ।
त्रिविको लापरवाही एक विषयमा मात्र नभई हरेक तहमा भइरहेको देख्न सकिन्छ । त्रिविले अधिकांश विषय तथा तहका परीक्षाको नतिजा सार्वजनिक गर्न ६ महिनादेखि १ वर्षसम्म लगाउनुले पनि विद्यार्थीको जिवन माथि खेलवाड गरिरहेको प्रष्ट रुपमा महसुस गर्न सकिन्छ ।
त्रिविको कमजोरीको परिणाम विद्यार्थीले समस्या भोगिरहेका छन् । यस्तो ढिलाइले विद्यार्थीमा मानसिक असर पर्ने गरेको छ । अहिले बीबीएस पहिलो वर्षको नतिजा सार्वजनिक नहुँदा विद्यार्थीहरु के गर्ने कसो गर्ने भन्दै भौतारिरहेका छन् । त्रिभुवन विश्वविद्यालयले २०८० वैशाखमा सञ्चालन गरेको परीक्षाको अहिलेसम्म नतिजा सार्वजनिक गरेको छैन ।
४ वर्षे स्नातक तहको पहिलो वर्षको परीक्षाको १३ महिना बित्दा पनि नतिजा सार्वजनिक नगरेपछि विद्यार्थी अन्योलमा परेका हुन् । दोस्रो वर्षको समेत परीक्षा दिइसकेका विद्यार्थी पहिलो वर्षकै नतिजा प्रकाशित नहुँदा अन्योलग्रस्त बनेका छन् ।
नतिजा कुरिरहेकी एक विद्यार्थीले भनिन्, ‘पास गरियो भने त समस्या भएन । तर, विषय लाग्यो भने अर्को एक वर्ष ढिलाइ हुने हो कि भन्ने डर लागिरहेको छ ।’
यस्तै स्नातकोत्तर तहको अध्ययन गर्न विदेश जाने तयारी गरिरहेका अर्का विद्यार्थी पहिलो वर्षकै नतिजा सार्वजनिक नहुँदा चिन्तित बनेका छन् । ‘अरु सबै परीक्षामा उत्तिण गरिसकेको छु तर, पहिलो वर्षको नतिजा सार्वजनिक नहुँदा एक विषयले अड्किन्छु कि भन्ने चिन्ताले सताइरहेको छ । सेप्टेम्बर इन्टेकमा जाने तयारी गर्दैछु तर त्रिविले नतिजा नै सार्वजनिक गर्दैन’ उनले दु:ख व्यक्त गरे ।
यस्तै एक विद्यार्थीले समयमा नतिजा नआउँदा अलमलमा परेको बताइन् । भन्छिन्, ‘कहिले काहि त पहिलो वर्षको जसरी नै अन्यको पनि यस्तै गरी ढिला हुने हो कि भन्ने डरले सताउँछ । लाग्छ त्रिविले समयमै नतिजा प्रकाशित नगर्दा विवाह नै गर्न पाउदिन कि ?’
एक विद्यार्थीले त आक्रोश नै पोखिन् । उनी भन्छिन्- ‘कहिले काहीँ कलेजको सरहरूसँग भेट हुन्छ अनि सोध्छु रिजल्ट कहिले आउँछ ?’ उहाँहरुको एउटै जवाफ आउँछ,- ‘अब त आउनु पर्ने हो, आउला ।’
तर, खै १३ महिना वितिसक्दा पनि आउँदैन । आक्रोशित रुपमा उनी बोलिरहँदा उनको आखाँबाट अन्योलता पनि प्रस्त देखिन्थ्यो । त्रिविले यसरी नै जोडिएका लाखौँ विद्यार्थीहरूको भविष्य माथि खेलवाड गरिरहेको छ ।




