काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा लोकसेवा पास गरेर निजामतीमा स्थायी जागिर खानेमा गुल्मीका सबैभन्दा धेरै रहेका छन् । निजामती प्रवेशको फलामे ढोका मानिने लोकसेवा परीक्षा भीडेर नाम निकाल्नमा गुल्मेलीहरु अग्रपक्तिंमा रहेको एउटा विवरण सार्वजनिक भएको हो ।
आयोगको प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा १ हजार ९९ महिला र २ हजार ५ सय ७६ पुरुष गरी कुल ३ हजार ६ सय ७५ उम्मेदवार स्थायी नियुक्तिका लागि सिफारिस भएकोमध्ये गुल्मी जिल्लाबाट मात्र १४५ जना अर्थात कूल सिफारिसमध्ये ३ दशमलव ९५ प्रतिशत गुल्मी जिल्लाबाटै सिफारिस भएका हुन् ।
निजामती सेवामा यस अघि स्याङ्जाले राख्दै आएको वर्चश्व भत्काउदै गुल्मी जिल्लाका धेरैले निजामतीमा प्रवेश गरेका हुन् । आयोगको वार्षिक प्रतिवेदन अनुसार गुल्मीका ४३ महिला र १०२ पुरुषले गत वर्ष लोकसेवा भीडेर निजामती सेवामा स्थायी नियुक्ति लिएका छन् ।
उक्त प्रतिवेदन अनुसार गुल्मीलाई स्याङ्जाले पछ्याइरहेको छ । स्याङ्जाका २९ महिलासहित ११६ जनाले स्थायी नियुक्ति लिएका छन् । यो कुल स्थायी नियुक्ति लिने संख्याको ३ दशमलव १६ प्रतिशत हो ।
यस्तै, सर्लाहीबाट २ दशमलव ९४ अर्थात १०८ जना स्थायी नियुक्तिका लागि सिफारिस हुँदा जुम्लाबाट १०२, धनुषा ९९, सप्तरीबाट ९०, बाराबाट ८९, सुर्खेतबाट ८८, महोत्तरीबाट ८६ जना सिफारिस भएका हुन् । कैलालीबाट ८५ जना सिफारिस भएको आयोगले जनाएको छ ।
आयोगका अनुसार गत वर्ष मनाङ र मुस्ताङ जिल्लाका कुनै पनि उम्मेदवार सिफारिस हुन सकेनन् । सबैभन्दा कम सिफारिस भएकामा डोल्पाबाट १, रसुवाबाट ६, सोलुखुम्बु र तेह्रथुम १०/१० जना स्थायी नियुक्ति लिन सफल भएका छन् ।




