काठमाडौं । सवारी चालक अनुमतिपत्र अर्थात् ड्राइभिङ लाइसेन्सको प्रयोगात्मक परीक्षा लिन अधिकांश ट्रायल सेन्टरहरू नियमविपरीत चलेको भन्दै सतर्कता केन्द्रले सरकारी निकायलाई नै कारबाहीको निर्देशन दिएको छ ।
सतर्कता केन्द्रले गरेको छानबिनले काठमाडौं, भक्तपुर र ललितपुरका अधिकांश ट्रायल सेन्टरहरू नियमविपरीत सञ्चालन भइरहेको निष्कर्ष निकालेको छ । ट्रायल सेन्टरका लागि सरकारले बनाएको निर्देशिकामा भएको व्यवस्था तथा मापदण्ड पालना नै नगरी ट्रायल सेन्टरहरू सञ्चालन भइरहेको केन्द्रको ठहर छ ।
ट्रायल सेन्टरहरूले मापदण्ड विपरीत आफूखुसी ट्रायल सेन्टरको पूर्वाधार बनाएका छन् । यसले परीक्षार्थी झुक्किएर फेल हुने गरेको र फेल भएपछि घुस दिनेदेखि दलालको फन्दामा पर्ने गरेका छन् । केन्द्रले यस्ता ट्रायल सेन्टरलाई कारवाही गर्न निर्देशन दिएको छ ।
प्रदेश सरकारले भाडामा लिएर ट्रायल परीक्षा चलाइरहेको इजी वे ट्रायल सेन्टर राधेराधे भक्तपुर, बुढाथोकी ट्रेडर्स एन्ड ट्रेनिङ स्कुल भक्तपुर, भेहिकल एकेडेमी तथा रिसर्च सेन्टर प्राली गुर्जुधारा, नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टर प्रालि गोकर्णेश्वर, सुजुकी ड्राइभिङ स्कुल प्रालि एकान्तकुना, सिटी ड्राइभिङ प्रशिक्षण केन्द्रको स्थलगत निरीक्षणपछि ती ट्रायल सेन्टरले सरकारले तोकेको मापदण्डमा नै पूरा नगरेको भन्दै कारबाही गर्न निर्देशन दिएको हो ।
यी ट्रायल सेन्टरका सञ्चालकहरुसँग कर्मचारीहरुले मिलेमतो गर्ने र पास फेल गराउने गर्दै आएका छन् । यातायातका कार्यालय नै कर्मचारी कम र ट्रयाल सेन्टर सञ्चालकहरु नै भएको भन्ने आरोपमात्र होइन कि प्रष्ट देखिएको छ ।
विदेशमा भएको व्यक्तिको नाममा समेत यहाँ खेतालाले ट्रायल दिएर लाइसेन्स निकाल्दै आएको राधेरोध यातायातले अर्को रमिता देखिएको छ । क्यानडामा भएको व्यक्तिको नाममा खेतालाले परीक्षा दिएर उत्तीण भइ लाइसेन्स दिइएको विषय अख्तियारमा पुगेपछि घटना बाहिरिएको हो ।
गत असोज २३ गते बर्ग ‘बी’को ट्रायल परीक्षा सि.न. १२२ का परीक्षार्थी क्यानडामा बसोबास गर्दै आएका छन् । उनको नाममा खेताला उम्मेदवारले परीक्षा दिए र उत्तीण पनि भए । सि.न. २२१ को नक्कली परीक्षार्थी खडा गरी लाइसेन्स दिने काम भयो । यस बाहेक मृतकका नाममा समेत त्यहाँबाट लाइसेन्स इस्यु भइरहेको यातायातकै कर्मचारीहरु बताउँछन् ।




