काठमाडौं । दु:खका भुमरीले घेरिएपछि मानिस एकतिर हुत्तिन विवश हुन्छ । जो दु:खमा अल्छिरहन्छ उसलाई त्यसैले हुत्याइदिन्छ । कति हुत्तिएकै छन्, कति समयको मेसो चिनेर अलग्गिएका छन् । नेपाली खेलकुदमा यस्तै दु:खको भुमरी सुरुवातदेखि नै छ । जसबाट खेलाडीहरुको पलायन सामान्य लाग्न सक्छ ।
देश छाडेर जानेहरुको कथा सुखद छैन । सामाजिक, साँस्कृतिक पाटोलाई बिर्संदा उनीहरु देशबाहिर रहनुपर्ने एउटै कारण छ- समानताको समाजमा सहज भविष्यको खोजी । त्यस्तै, सहज भविष्यको खोजीमा नेपाली माटोको कीर्ति छाडेर पलायन भएकी कराते खेलाडी हुन्- सुस्मा ।
जब उनी खेलमा रमाउथिन् विदेशिन्छु भन्ने कहिले लागेन । तर, रहर नभएको विदेश यात्रा बाध्यताले यसरी जुराइदियो कि उनी देश छाडेर हिँडिन् । बढ्दै गएको उमेर, बुढेसकालले छोएका बाबुआमा, जति परिश्रम गरेपनि खेलकुदले दिएको शून्यता । यी नै परिस्थितिले थिचिएकी सुस्मा अष्ट्रेलिया भासिइन् ।
राष्ट्रिय प्रतियोगिता खेलेकी उनी बाहिरिँदा राज्य टुलु टुलु हेरिरह्यो । उनी भन्छिन्- ‘राज्य बाहिरिनेहरुलाई बिर्सन्छ र देशमै रहेकाहरुलाई बाहिरिन बाध्य हुने वातावरण बनाइरहन्छ ।’ उनी दु:खी हुँदै भन्छिन्- ‘खेलाडीलाई देशले कहिल्यै आफ्नो सोचेन । पदाधिकारी चाकडीमा रमाएका छन् । विकल्पमा खेलाडी कि त पेसा बदलेर जिन्दगी चलाउँछन् कि विदेशिन बाध्य बन्छन् ।’
सधैं आफ्नो खेल प्रदर्शनमै टिकिरहुँ भन्ने सुस्मा कसरी विदेश पलायन भइन् ? भन्ने प्रश्नमा उनी भन्छन्- ‘अष्ट्रेलिया आउनुको मुख्य कारण खेलाडी छनोटमा पारदर्शी नहुँनु हो । राम्रालाई भन्दा हाम्रालाई प्राथमिकतामा राखेको देखेपछि खेल जिवन त्याग्ने अवस्थामा पुगे । अर्को कुरा उमेर पुग्दै गएपछि पैसा कमाउनु पर्छ भन्ने हुन्छ । घरको आर्थिक अवस्था हेर्नै परिहाल्यो । परिवारको भविष्यको लागि यहाँ आएँ ।’
उनी त एक प्रतिनिधि पात्र मात्र हुन् । उनी जस्तै धेरै प्रतिभा कि त अझै पनि देशमै संघर्ष गर्दैछन् कि त देश छाडेर कहिले जान पाउने हो भन्दै कुरिरहेका छन् । महत्त्वपूर्ण राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्णपदक प्राप्त गरी मुलुककै प्रतिष्ठा बढाउन मिहिनेत गरेका उनीहरूलाई राज्यले संरक्षण गर्न सकेको छैन । यसले पनि कतिपय खेल प्रतिभाहरू निराश बनेका छन् ।
उत्कृष्ट प्रतिभालाई कसरी रोक्ने ?
अहिलेको अवस्थामा युवा खेलाडीलाई विदेश जानबाट रोक्नको लागि खेल जगतमा हुने राजनीतिक हस्तक्षेप अन्त्य हुन जरुरी छ । खेलाडीको आफ्नो खेल जीवन र भविष्य सुरक्षित हुने गरि आर्थिक व्यवस्थापन गर्ने दायित्व नेपाल सरकारले निर्वाह गर्नुपर्छ ।
खेलकुदमा नेपालले राम्रो प्रदर्शन किन गर्न सक्दैन ? मेगा स्टार जन्माउन किन सक्दैन ? ठूला प्रतियोगितामा नेपाली खेलाडी हार्नासाथ अन्य देशका खेलाडीसँग दाँजेर हामी यस्ता जिज्ञासा राख्छौं । तर, जित्नका लागि हामीले आवश्यक तयारी गरेका छौँ त ? भन्ने कुरा सोच्नु जरुरी छ । अहिले हामीले जुन तयारीका आधारमा पदक जितेका छौं त्यो पनि ठूलो हो ।
ठूला प्रतियोगितामा पदक जित्न सम्भव छ । तर, राज्यले दीर्घकालीन नीति बनाउनुपर्छ । अहिलेसम्म त खेलाडीहरू आफ्नै खर्चले डाइट खाएर, ट्रेनिङ गरेर छनोट वा प्रतिस्पर्धामा भिड्न आउने हुन् । त्यस्ता खेलाडीलाई चार महिना क्याम्पमा राखेकै भरमा पदक जित्ने सपना देख्नु मूर्खतासिवाय केही होइन ।
अब कुरा गरौं, खेलाडी छनोट । हामी किन खेल्दै छौँ ? यो प्रश्न सबैभन्दा महत्वपूर्ण छ । यसका लागि जुनसुकै उमेरका मानिसलाई पनि खेलकुदमा लाग्न उत्प्रेरित गर्नुपर्छ । तर, राष्ट्रलाई पदक जिताउन खेल्ने हो भने धेरै पक्षमा ध्यान दिन जरुरी छ । उमेर, शारीरिक शक्ति, मनोविज्ञान, पोषण लगायत वैज्ञानिक आधारसहित खेलाडी चयन गर्नुपर्छ र उनीहरूलाई वर्षौंसम्म निरन्तर ट्रेनिङ दिनुपर्छ । तर, हाम्रोमा प्रतिभाको कदरभन्दा पनि आफ्नालाई काखी च्याप्ने प्रचलन छ ।
अर्को महत्वपूर्ण पक्ष प्रशिक्षक तथा प्राविधिक हुन् । पहिले उसको छनोट, त्यसपछि प्रतिभा उजागर, मोटिभेसन, ट्रेनिङ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागिता, उपलब्धि र निश्चित समयपछि अवकाश । यी सबै पक्षमा राज्यले ध्यान दिनुपर्छ । एउटा खेलाडी अवकाशपछि खेलकुद विज्ञ तथा प्रशिक्षक बन्न सक्छ । उसले अन्य दसौँ खेलाडी उत्पादन गर्न सक्छ । नेपालमा अवकाशपछिको भविष्य निश्चित नहुँदा पदक विजेता खेलाडी विदेश पलायन भइरहेका छन् । १५/२० वर्षसम्म खेलेका खेलाडी पलायन हुनु विडम्बना हो । त्यस्ता प्रतिभालाई खेल क्षेत्रबाट टाढिन वा विदेशिनबाट रोक्न राज्यसँग स्पष्ट नीति हुनुपर्छ ।
केही उमेरसम्म खेल्यो/रमाइलो गर्यो, उमेर ढल्किदै जाँदा र परिवारको जिम्मेवारी बढ्दै जाँदा त्यसको व्यस्थापन गर्न कठिनाई हुन्छ, त्यसपछि सबै करिअर त्यागेर विदेशिनु पर्छ । अधिकांश युवा खेलाडीहरुले खेलमै भविष्य देख्ने र खेलबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सम्भावना नदेख्दा आज उम्दा खेलाडीहरु वैदेशिक रोजगारीको लागि जान बाध्य छन्, जुन नेपाली खेल जगतको लागि दु:खद हो । खेल राष्ट्र र स्वास्थ्यको लागि मात्र नभई उसको आम्दानीको राम्रो श्रोत बन्नुपर्छ ।
अर्को महत्वपूर्ण विषय हाम्रो खराब राजनीतिले खेल जगत पनि ध्वस्त छ । हरेक ठाउँमा हुने राजनीतिक खिचातानी र राजनीतिक हस्तक्षेपले युवा खेलाडीहरु निराश भएका छन् । खेल व्यवस्थापनको जिम्मा पाएको रााष्ट्रिय खेलकुद परिषद जस्ता संस्थाहरु खेलकुदको विकासका लागि कम र आफ्नो कुर्सी जोगाउने ध्यानमा बढि केन्द्रित छन् । परिणामत: खेलकुदको आशादित विकास हुन सकेको छैन भने खेलाडीहरु निराश हुँदै विदेशिन बाध्य छन् ।
नेपाली समाजमा ‘नेपालमा केही पनि हुँदैन’ भन्ने धारणाले गहिरो जरा गाडिरहेको छ । त्यसबाट खेल जगत पनि प्रभावित बनिरहेको छ । यहाँ खेलेर, यहाँ व्यवसाय गरेर, यहाँ जागिर खाएर केही हुँदैन भन्नेहरुको जमात ठूलो छ । त्यसले खेलाडी र आम युवाहरुको मनोविज्ञानलाई नकरात्मक असर गरिरहेको छ । जसले गर्दा आम युवा, आम मानिसहरुले नेपाली खेल जगतमा नै भविष्य देख्न छोडिसकेका छन् र युरोप, अमेरिका, अष्ट्रेलिया लगायतका देशमा भविष्य खोजिरहेका छन् ।
(नोट : गोपनियतामा ख्याल गर्दै उनको परिचय गोप्य राखेका छौं ।)




