रौतहट । बाराका दुई जना युवकलाई ठूलो परिमाणमा लागूऔषधसहित भारतीय सीमा सुरक्षा बल एसएसबीले पक्राउ गरेको छ । भारत बिहार मोतीहारी जिल्ला एसएसबी क्याम्प जमुनियाका गस्ती टोलीले पिठवा गाउँ छेउ ३५७ नम्बर पिल्लर (सीमा स्तम्भ) नजिकैबाट लागूऔषधसहित एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका ८ ककोर्वाका महमद वसिर खानको छोरा २५ वर्षीय ईरफान खान रहेको एसएसविले जनाएको छ । भारत घोडासहन बजारबाट भारु ४८ हजार रुपैयाको विभिन्न किसिमका लागुऔषध इंजेक्शन, ट्याब्लेट र सिरप मोटरसाईकलमा राखेर ककोर्वा गाउँतर्फ जाने क्रममा ईरफानलाई एसएसबीको टोलीले पक्राउ गरेको थियो ।
घोडासाहन बजारबाट लगेर सिम्रौनगढ नगरपालिका बाँसवरीया गाउँमा मिठु राय यादवको छोरा राजु यादव र उनको भाई कञ्चन यादवको घरमा स्टक गरेर बिस्तारै कलैया, नीजगढ, हेटौंडादेखि काठमाडौंसम्म पुर्याउने गरेको इरफानले बताएको एसएसबीले जनाएको छ ।
ईरफानलाई बरामद लागुऔषध र मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि झरौखर थानामा बुझाईएको एसएसबी क्याम्प जमुनियाले जनाएको छ । यसैबीच ईरफानको बयानको आधारमा घोडासहनबाट आफ्नो घर बारा सिरौनगढ बाँसवरीया तर्फ जाँदै गरेको राजु यादवलाई झरौखर थानाको टोलीले नियन्त्रणमा लिएको मोतीहारी जिल्लाका एस्पी कान्तेश कुमार मिश्रले पुष्टी गरेका छन् ।
लागुऔषध कारोवारी दुवै जना आरोपी जिल्ला प्रहरी कार्यालय मोतीहारीको नियन्त्रणमा रहेको तथा थप अनुसन्धान भइरहेको एस्पी मिश्रले जानकारी दिएका छन् । एसपी मिश्रको नेतृत्वमा गत साता मितीहारी जिल्लामा लोकसभाको निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको थियो ।




