पाल्पा । पाल्पाको तिनाउ गाउँपालिकाको नुवाकोटबाट रूपन्देहीको बुटवल फर्कदै गरेको जीप बुधबार राति दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । यस्तै दुर्घटनामा २ जना घाइते छन् ।
लु २ च ८५३१ नम्बरको जीप नुवाकोटबाट जितगढी झर्ने ओरालोमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको र २ जना घाइते भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
दुर्घटनामा स्याङ्जा पुलतीबजार घर भइ बुटवल १० बस्ने चालक रामप्रसाद शर्मा, तिलोत्तमा ३ बस्ने ५७ वर्षीय आशका श्रेष्ठ, तिलोत्तमा ३ बस्ने ५० वर्षकी भगवती श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डितले जानकारी दिए ।
यस्तै घटनामा बुटवल ९ मिलनचोक बस्ने ५६ वर्षीय चन्दा श्रेष्ठ, बुटवल ११ बस्ने ४६ वर्षीय लक्ष्मीता श्रेष्ठ घाइते रहेका छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । जीप ओरालो घुम्ती सडकमा दुर्घटना भएको हो । उनीहरु घुम्नको लागि पाल्पा र रूपन्देहीको पायक पर्ने स्थल नुवाकोटगढी गएका थिए ।




