पश्चिम नवलपरासी । प्रतापपुरमा सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका ६ हरपुरका मोतीलाल चमारको ६ वर्षीय छोरा सन्नी चमारको सर्पको टोकाइका कारण मृत्यु भएको हो ।
शुक्रबार बिहान १० बजे खाना खाएर गाउँका केही बालबालिकासँग घरदेखि १०० मिटर दक्षिण दिशामा रहेको बगैंचामा खेल्न गएको बेला सर्पले टोकेको हुन सक्ने मृतकका बुवा मोतीलाल चमारले बताए ।
११ बजेतिर बालक एक्कासि रुदै घर फर्केर आएपछि आमाले किन रुदै छौं ? बाबु भनेर सोधिरहँदा बालकले खुट्टामा काटी गडेको भनेका थिए । आमाले सर्पले टोकेको आशंकामा उपचारको लागि भारतको निचलौल स्थित सर्पदंश उपचार केन्द्रमा लगेकी थिइन । त्यहाँका डाक्टरले रिफर गरेपछि नवलपुर जिल्लाको त्रिबेणीस्थित सर्पदंश उपचार केन्द्रमा बालकको उपचार गराउन पुर्याइएपनि बालकको मृत्यु भएको परिवारजनले बताएको छ ।
उपचार केन्द्रमा ल्याइ पुर्याउनुभन्दा पहिले नै बालकको मृत्यु भइसकेको त्रिवेणी स्थित सर्पदंश उपचार केन्द्रले बताएको छ । बालकको बाटोमा नै मृत्यु भइसकेकाले केन्द्रमा ल्याएर उपचार सुरु गर्ने अवस्था नरहेको सर्पदंश उपचार केन्द्र त्रिवेणीले जनाएको छ ।
छोराको मृत्युपछि आमाको अचेत अवस्थामा रहेकी छन् । उनको प्रतापपुर २ गोपीगंजको प्रभा हेल्थ सेन्टरमा उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।




