काठमाडौं । त्रिशूली नदीमा हराइरहेका दुई वटा बस र यात्रुको खोजीका लागि उच्च प्रविधिको सोनार डिभाइस प्रयोग गरिएको छ । मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत सिमलतालमा शुक्रबार पहिरोसँगै खसेका बस र यात्रुको खोजीका लागि आज बिहानदेखि दुई सय मिटर गहिराइसम्म हेर्न मिल्ने डिभाइस प्रयोग गरिएको छ ।
नेपालमा भएकामध्ये उच्चस्तरको मानिने सोनार प्रविधि पानीमुनि साउन्ड वेभ पठाई त्यहाँ रहेका वस्तुहरूलाई स्क्यान गरेर आकृतिको रूपमा देखाउने प्रविधि हो । धमिलो पानीमा पनि काम गर्न सक्ने प्रभावकारी मानिएको यो प्रविधिबाट पानीमा फालिएको साउन्ड वेभ तलसम्म रहेका वस्तुसम्म पुगेर स्क्यान गरी आकृतिको रूपमा फिर्ता हुने प्रकारको रहेको छ ।
मोटर बोटमा जडान गरी लामो दुरीको क्षेत्रफलमा पानीमुनि रहेका सम्पूर्ण वस्तुहरूको आकृति कम्प्युटरमा हेर्न सकिन्छ । यो प्रविधिबाट सफलता मिल्ने विश्वास समेत सशस्त्र प्रहरी बल नेपाल मुख्यालयले गरेको छ । यसैबीच बससँगै हराएकामध्ये थप दुई जनाको शव भेटिएको छ । दुई वटा बसमा गरी ६२ जना हराएकामा पछिल्ला दुई सहित सात जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पछिल्लो पटक भेटिएका शव चितवनको भरतपुर २२ पटिहानीका २३ वर्षीय सुदीप विक र रौतहटका १७ वर्षीय फिरोज राहुपतको रहेको पुष्टि भएको छ । हिजोसम्म पाँच जनाको शव भेटिएको थियो । यस्तै आज अरू चार जनाको शव पनि भेटिएको छ । ती शव बससँगै हराइरहेकाहरूको हो वा होइन भन्ने पुष्टि गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।




