काठमाडौं । वैदेशिक रोजगारका लागि संयुक्त अरब इमिरेट्स (युएई) पुगेका ५४ जना नेपाली कामदार एक महिनाभन्दा बढी समयदेखि बन्धकमा परेको घटना प्रति राष्ट्रिय मानव अधिकार आयोगले चासो व्यक्त गरेको छ । आयोगले वैदेशिक रोजगार विभाग र परराष्ट्र मन्त्रालयलाई पत्र पठाएर यस बारे आवश्यक पहल र ध्यानाकर्षणका निम्ति आग्रह गरेको हो ।
काठमाडौं नयाँ बानेश्वरस्थित म्यानपावर कम्पनी ओशो रिक्रुटिङ एजेन्सीले श्रम सम्झौता बमोजिम उनीहरूलाई रोजगारीका लागि पठाएको हो । युएईको टोर्नाडो ग्रुपमा गार्डेनरका रूपमा काम गर्न भनेर पठाए पनि सम्झौता अनुसारको काम नपाएपछि उनीहरू समस्यामा परेका हुन् ।
युएईमा बन्धक रहेका पीडितहरूका बारेमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउन आयोगले पत्राचार गरेपछि वैदेशिक रोजगार विभागबाट ओसो म्यानपावरलाई स्पष्टीकरण दिन बोलाएको मौखिक जानकारी आयोगलाई दिएको छ ।
एउटै कोठामा २५ जनाभन्दा बढीलाई भेडाबाख्रा झैं थुनेर राखिएको पीडितहरूको गुनासो केहि दिन अघि सार्वजनिक भएको थियो । गर्मीमा गुम्सिएर पिउने पानीसमेत नपाई भोकैले मरिन्छ कि भन्ने पीडितहरूको गुनासो थियो । बन्धकमा परेकाहरू ओसो म्यानपावरमार्फत दुई समुह गरेर युएई पुगेका थिए ।
गत जेठ ३१ गते युएई पुगेको दोस्रो समूह र त्यसअघि पुगेको पहिलो समूहलाई गार्डेनरको काम भनेर झुक्याई साउदी अरेबियाको सीमा नजिकैको घनघोर जंगल रेखदेख र खजुर टिप्ने काम दिइएको पीडितहरूले बताएका छन् ।
ओसो म्यानपावरले उनीहरूलाई सुक्खा तलब १२ सय दिराम (नेपाली ४३ हजार ६ सय रूपैयाँ) हुन्छ भनेका थिए । ओसो म्यानपावरबाट ३८ जनाको पहिलो समूह र बाँकी १६ जना दोस्रो समूहमा गएको युएईमा बन्धक पीडितहरूले बताएका छन् ।




