सर्लाही । सर्लाहीको बलरा नगरपालिकास्थित मनुस्मारा खोलामा डुबेर एक वृद्धको मृत्यु भएको छ । यस्तै एक बालिका बेपत्ता भएकी छिन् । आज वडा नं १ हथिऔलस्थित खोलामा डुबेर सोही स्थानका ६० वर्षीय गजेन्द्र साहको मृत्यु भएको हो ।
घाँस काटेर फर्कँदै गरेका दुई बालिका खोला तर्ने क्रममा डुबेको देखेपछि भैँसी चराउँदै गरेका साह खोलामा पसेका थिए । सोही क्रममा साहको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिए ।
दुई बालिकामध्ये एक सोही स्थान निवासी अजय गिरीकी १२ वर्षीया छोरी निशाकुमारी गिरी बेपत्ता भएकी हुन् । यस्तै अर्की १५ वर्षीया पिङ्कीकुमारी गिरी भने पौडी खेलेर सकुशल बाहिर निस्कन सफल भएको प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।
बेपत्ताको खोजी कार्य जारि रहेको छ भने मृतक साहको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ ।




