काठमाडौं । भक्तपुरको गट्ठाघरमा ट्राफिक प्रहरीले चेकजाँचका लागि रोकिराखेको स्कुटरलाई ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । बा ४९ प ८९४४ नम्बरको स्कुटर ट्राफिक प्रहरीले रोकेर चेकजाँच गरिरहेको थियो । तर, ना ६ ख २१७३ नम्बरको ट्रकले एक्कासि ब्रेक लगाउँदा स्कुटरलाई करिब २० मिटर घिसारेको हो ।
ट्राफिकले लुकेर चेकजाँच गरेको र ट्रकले एक्कासि ब्रेक लगाउँदा दुर्घटना निम्तिएको भन्दै अहिले त्यहाँ ठूलो संख्यामा जम्मा भएर सर्वसाधारणले विरोध गरिरहेका छन् । दुर्घटना स्थलमा तनाव भएकाले प्रहरीले थप प्रक्रिया सुरु गर्न नसकेको भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी राजन कार्कीले बताए ।
भीडकै कारण ट्रकले घिसारेर किचिरहेको शव निकाल्न लागिएको क्रेन पनि फर्काइएको छ । सडक रगताम्य छ । अहिले त्यहाँ जम्मा भएको भीडले प्रहरीको विरोध गरिरहेको छ । अहिले प्रहरीले अवस्था नियन्त्रण गर्ने प्रयास गरिरहेको छ ।




