काठमाडौं । ट्रकको ठक्करले स्कुटर चालकको मृत्यु भएपछि उत्पन्न तनावपछि भक्तपुरको गठ्ठाघरमा प्रहरीले अश्रुग्यास हानेको छ । विरोध प्रदर्शनले उग्र रुप लिएपछि प्रहरीले अश्रुग्यास चलाएको हो ।
प्रदर्शनले उग्र रुप लिएपछि प्रहरीले लाठीचार्ज पनि गरेको छ । प्रहरीकै कारण दुर्घटना भएको दाबी प्रत्यक्षदर्शीले गरेपछि स्थिति तनावपूर्ण बनेको हो । दुर्घटना गराउने ट्रक चालक फरार रहेको बताइएको छ ।
बिहिबार दिउँसो ट्राफिक प्रहरीको चेकिङमा रोकिएको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको थियो । घटनास्थलमै एक महिलाको मृत्यु भएपछि तनाव बढेको थियो । त्यसपछि स्थानीय बासिन्दाले दुर्घटना हुनुमा ट्राफिक प्रहरीको पनि दोष रहेको भन्दै प्रदर्शन गरेका थिए ।
उनीहरुले ट्रक चालकलाई कारबाही गर्न माग गरेका छन् । प्रदर्शनकारीले सडकको बीचमा रहेको ट्राफिक आइल्याण्ड पनि भत्काइदिएका छन् । घटना आज दिउँसो पौने दुई बजेतिरको हो । प्रत्यक्षदर्शीका अनुसार कौशलटारबाट गठ्ठाघरतर्फ गइरहेको ट्रकले स्कुटरलाई ठक्कर दिएपछि निकै परसम्म सोहोरेर लगेको थियो ।




