काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिका ३ गट्ठाघरमा बिहिबार ट्रकको ठक्करबाट स्कुटर चालकको घटनास्थलमै मृत्यु भयो । दिउँसो १:४० बजे ना ६ ख २१७३ नम्बरको ट्रकले बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै ज्यान गएको थियो । उक्त घटनामा कसको मृत्यु भयो भन्ने पुष्टि गर्न राति १० बजेसम्म लाग्यो ।
सुरुमा प्रहरीले नै एक महिलाको ट्रकको ठक्करबाट मृत्यु भएको बताएको थियो । पछि मृत्यु हुने महिलाको पहिचान खुलेको उनका दाजुले आएर सनाखत गरेकोसम्म प्रहरीले बतायो । तर मृत भनिएकी महिला आफैं प्रहरीको सम्पर्कमा आएपछि घटनाले नयाँ मोड लियो । त्यसपछि प्रहरीले सीसीटीभी फुटेज हेर्दा महिला नभई पुरुषको मृत्यु भएको खुल्यो ।
घटनास्थलबाट बरामद भएका कागजातका आधारमा पनि पुरुष रहेको खुल्यो । ती पुरुषका आफन्त आएर सनाखत गरेपछि दुर्घटनामा मृत्यु हुने महिला नभई ओखलढुंगाको चिशंखुगढी गाउँपालिका ४ खहरे घर भइ काठमाडौं कपनमा बस्दै आएका ६५ वर्षका उत्तम कोइराला रहेको खुल्यो ।
दुर्घटनाको समाचार संकलनको क्रममा भक्तपुर प्रहरी प्रमुख वेद विष्टलाई फोन गर्दा ट्रकको ठक्करबाट एक जना महिलाको मृत्यु भएको तर उनको परिचय खुल्न बाँकी रहेको बताएका थिए । नेपाल प्रहरीले सूचना प्रवाह गर्ने पत्रकारहरुको ग्रुपमा पनि दुर्घटनामा महिलाको मृत्यु भएको उल्लेख थियो । सोही सूचनाको आधारमा गट्ठाघरमा ट्रकको ठक्करबाट महिलाको मृत्यु भएको समाचार आएको थियो । तर, बिहिबार राति मात्र मृतक पुरुष भएको खुल्यो ।




