काठमाडौं । उदयपुरमा मिनीबस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका ६ चुरे वनस्थित सडकमा गाईघाटबाट लहानतर्फ जाँदै गरेको ना १ ज ६२७९ नम्बरको मिनिबस आइतबार दिउँसो दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।
दुर्घटनामा काठमाडौं महानगरपालिका ५ की ५० वर्षीया गीता कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बस सडकबाट करिब ३० मिटर तल खसेको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका गाडीमा सवार १७ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । गाडी दुर्घटनापछि चालक फरार छन् । उनको खोजी गरिरहेको पनि प्रहरीले जानकारी दिएको छ ।




