अछाम । जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर कुँवर र नेपाली कांग्रेसका जिल्ला प्रवक्ता पदम शाहबीच आइतबार राति मदिरा पार्टीको क्रममा कुटाकुट भएको छ । सरकारी निवासमा मदिरा सेवनपछि झगडा सुरु भएको थियो, जसका कारण दुवै जना घाइते भएका छन् ।
प्रहरीका अनुसार कुटपिटका क्रममा कुँवरको टाउकोमा गम्भीर चोट लागेको छ, जबकि शाहको हातमा चोट लागेको छ । घटनापछि प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला अस्पताल पुर्याएको थियो । डीएसपी ईश्वरीप्रसाद भण्डारीले बताए अनुसार स्वास्थ्य परीक्षणमा दुवै जनाले मदिरा सेवन गरेको पुष्टि भएको छ ।




