काठमाडौं । शंखमुलमा पुल हाउस सञ्चालकको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका ७ घर भई हाल काठमाडौं महानगरपालिका १० साइबाबा पार्क बस्ने २२ वर्षीय एमके कुमार रहेका छन् ।
कुमारलाई बुधबार बिहान सवा १० बजे उनको कोठाबाटै पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले बताए । भदौ १० गते बिहान राति करिब १:५० बजे शंखमुल साइबाबा पार्कस्थित एउटा घरमा सञ्चालन गरिएको पुल हाउसभित्र ४१ वर्षीय रुपक वान्तवाको हत्या भएको थियो ।
उक्त पुल हाउस वान्तवाले नै सञ्चालन गर्दै आएका थिए । पुल हाउसमा गम्भीर अवस्थामा भेटिएका वान्तवाको उपचारको क्रममा सिभिल अस्पतालमा बिहान साढे २ बजे मृत्यु भएको थियो । वान्तवालाई शरीरका विभिन्न भागमा रड प्रहार गरिएको थियो । कुमारको कोठाबाट घटनामा प्रयोग भएको रडसमेत प्रहरीले बरामद गरेको छ ।
रजौरेका अनुसार वान्तवाको पूर्वरिसिइबीको कारण हत्या भएको खुलेको छ । कुमार साइबाबा पार्कस्थित टहरामा डेरा गरी बस्दै आएका थिए । तर, उक्त रिसिइबी बारे सबै स्पष्ट भइनसकेको प्रहरीले जनाएको छ । ‘सानो सानो कुरामा झगडा हुने गरेको र त्यही झगडाको कारण हत्या भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ,’ रजौरेले भने ।




