बैतडी । बैतडीमा करेन्ट लागेर १२ वर्षीय बालकको मृत्यु भएपछि आफन्तहरूले क्षतिपूर्तिको माग राख्दै राजमार्ग अवरुद्ध गरेका छन् । सिगास गाउँपालिका ९ का बसन्त बोहराको शुक्रबार मध्याह्न करेन्ट लागेर निधन भएको थियो ।
बसन्तको मृत्युपछि जयपृथ्वी राजमार्गको बाजपानी क्षेत्रमा शुक्रबार साँझ साढे ६ बजेदेखि आफन्तहरूले सडक अवरुद्ध पारेका हुन् । बैतडी प्रहरीका प्रवक्ता, निरीक्षक बलराम पाण्डेयले क्षतिपूर्तिको माग गर्दै स्थानीयले सडक बन्द गरेको जानकारी दिए ।
बसन्त शुक्रबार दिउँसो बाख्रा चराउन जङ्गल गएका बेला भुइँ नजिक लत्रिएको बिजुलीको तारमा छोइएपछि करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको थियो ।
मृतकको शव घटनास्थलमै रहेको छ । इलाका प्रहरी कार्यालय पाटनका निरीक्षक राजेन्द्र साउदको नेतृत्वमा प्रहरी टोली राजमार्ग खुलाउन घटनास्थलमा पुगेको छ ।




