वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकाले नयाँ आर्थिक वर्ष सुरु भएको साढे दुई महिनाभन्दा बढी समय बितिसक्दा पनि बजेट प्रस्तुत गर्न सकेको छैन । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ अनुसार, नगरपालिकाले असार १० गतेभित्र बजेट सार्वजनिक गरी असार मसान्तसम्म नगर सभाबाट पारित गर्नुपर्ने प्रावधान रहेको छ ।
तर, आन्तरिक विवादका कारण मेयर सिंगासन साह तेली र अन्य जनप्रतिनिधिहरू बीच सहमति हुन नसक्दा बजेट ल्याउने प्रक्रिया ठप्प भएको हो । बजेट प्रस्तुत नहुँदा नगरपालिकामा हुने विकास निर्माणका कामहरू स्थगित भएका छन् ।
त्यसैगरी, नगरपालिका कर्मचारीहरूले पनि तलब र भत्तासमेत पाउन सकेका छैनन् । बजेट पास नभएसम्म खर्च गर्न नपाइने कानूनी व्यवस्थाका कारण विकास कार्य मात्र नभई भुक्तानीका अन्य कामहरू समेत रोकिएका छन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफाका अनुसार, बजेट तयारी पुरा भए पनि जनप्रतिनिधिहरूबीचको विवादले बजेट समयमा प्रस्तुत हुन नसकेको हो । “हामी तयारीमा छौं, तर जनप्रतिनिधिहरूबीच सहमति हुन नसक्दा बजेट आउन ढिलाइ भएको छ,” उनले भने ।
वडा नम्बर ४ का वडाध्यक्ष सुरेन्द्र यादवले मेयर साहको मनोमानीको आरोप लगाउँदै, नगरपालिकाको ढिलाइका कारण विकास कार्यहरूमा असर परेको बताए । उनी भन्छन्, मेयर साहको एकलौटी निर्णयप्रवृत्तिले गर्दा बजेट आउन ढिलाइ भएको हो ।
तर मेयर साहले भने आफू बिरामी भएको कारणले ढिलाइ भएको स्वीकार गर्दै, केही दिनमै बजेट ल्याइने बताएका छन् । उनले जनप्रतिनिधिहरूबीच गम्भीर विवाद नरहेको पनि दाबी गरेका छन् । “छिट्टै बजेट ल्याउँछौं, केही दिनमै सार्वजनिक गर्नेछौं,” उनले भने ।




